भारतबाट एफबीआईको मोस्ट वान्टेड फरार महिला पक्राउ

अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले भारतबाट आफ्ना टप–१० मोस्ट वान्टेड फरार सूचीमा परेकी सिन्डी रोड्रिग्ज सिंहलाई पक्राउ गरेको छ।
सिन्डीमाथि आफ्नै ६ वर्षीय छोरा नोएल रोड्रिग्जको हत्या गरेको आरोप छ। एफबीआई निर्देशक काश पटेलले बिहीबार एक्समार्फत जानकारी दिँदै सिन्डीले आफ्नो ठेगाना सम्बन्धी झूट बोलेर भारत भागेको बताए। भारतीय अधिकारी र इन्टरपोलको सहयोगमा उनलाई २० अगस्ट २०२५ मा पक्राउ गरी अमेरिकामा पठाइएको हो।
सिन्डीविरुद्ध टेक्सासका अधिकारीहरूले २०२३ नोभेम्बरमा पक्राउ वारेन्ट जारी गरेका थिए। उनलाई एफबीआईले २०२५ जुलाईमा मोस्ट वान्टेड सूचीमा राखेको थियो। उनको बारेमा जानकारी दिने व्यक्तिलाई २ लाख ५० हजार अमेरिकी डलर पुरस्कार घोषणा गरिएको थियो।
अनुसन्धानका क्रममा सिन्डीले छोरा नोएल आफ्नो जैविक पितासँग मेक्सिकोमा रहेको दाबी गरेकी थिइन्। तर, नोभेम्बर २०२२ मा श्रीमान् अर्शदीप र अन्य छोराछोरीसँग भारतको उडानमा देखिएकी उनले नोएललाई साथमा ल्याएकी थिइनन्। त्यसपछि नोएलको अवस्थाबारे प्रश्न उठ्दै आएको छ।
एफबीआईका अनुसार पछिल्लो ७ महिनामा पक्राउ पर्ने उनी चौथी मोस्ट वान्टेड फरार हुन्। अमेरिका ल्याइसकेपछि उनलाई टेक्सासका अधिकारीसमक्ष पेश गरिनेछ, जहाँ हत्या लगायतका आरोपमा मुद्दा चलाइनेछ।
डलास एफबीआई प्रमुख जो रोथ्रोकले भनेका छन्, “नोएलको बेपत्ता र हत्याको घटना हाम्रो हृदयसँग जोडिएको छ। सिन्डीलाई मोस्ट वान्टेड सूचीमा राखेर, विश्वभरिबाट उनको जाकारी खोज्दै आएका थियौं र अन्ततः उनलाई पक्राउ गर्न सफल भयौं।”
तपाईको प्रतिक्रिया दिनुहोस