पर्सामा १४ लाख बढी हुण्डीसहित दुई जना पक्राउ

विशेष सूचनाका आधारमा पर्सा प्रहरीले १४ लाख १३ हजार ५०० रुपैयाँको हुण्डी रकमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा वीरगञ्ज–२ घुसुकपुरका ३९ वर्षीय संजय कुमार साह र बारा महागढीमाई–४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन्।
पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार बिहीबार साँझ करिब सवा ४ बजे वीरगञ्ज महानगरपालिका–२, इदगाह चोक सडकखण्डबाट भारतिय नम्बर प्लेट BR05 AB 7761 र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकल रोकी जाँच गर्दा रकम फेला परेको हो। प्रहरीले बताए अनुसार मोटरसाइकलमा फल्स सिलिङ बनाई रकम लुकाइएको अवस्था फेला परेको थियो।
बरामद रकममा १ हजार दरका नोट १० लाख र ५०० दरका नोट ४ लाख १३ हजार ५०० रुपैयाँ रहेको छ।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५(क) अनुसार हुण्डी कारोबारसम्बन्धी कसूरमा कारबाही भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस