Techie IT
२०८२ भाद्र २८, शनिबार

प्रहरी कार्यालयमा आगजनी हुँदा घाइते भएका लामाको मृत्यु


सांकेतिक

जेनजी आन्दोलनका क्रममा कास्की जिल्ला प्रहरी कार्यालयमा आगजनी हुँदा गम्भीर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ।

चितवनको भरतपुर–१० का ४३ वर्षीय विजय लामाको उपचारको क्रममा शनिबार बिहान १२ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको अस्पतालका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए।

लामा करिब ७० प्रतिशत शरीर जलेको अवस्थामा अस्पताल भर्ना भएका थिए। अस्पतालका निर्देशक प्रा.डा. प्रेमराज पंगेनीका अनुसार लामाको अवस्था अत्यन्त गम्भीर थियो।

लामा पोखरा–१६ बस्ने गरेका र कतिपय अवस्थामा शुक्लागण्डकी–११ पनि आफ्नो ठेगाना बताउने गरेको बताइन्छ।

आन्दोलनकर्मीहरूले कास्कीका अधिकांश सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेपछि डोजरसहित जिल्ला प्रहरी कार्यालयमा प्रवेश गरेका थिए। त्यही क्रममा प्रहरी कार्यालयमा आगो लाग्दा लामा गम्भीर घाइते भएका थिए।

प्रहरी कार्यालयमा तोडफोड, लुटपाट र आगजनीसमेत भएको थियो। आन्दोलनकर्मीहरूले लुटेका केही हतियार प्रहरीले फिर्ता गरेको भए पनि केही अझै फेला पारेको छैन।

त्यस क्रममा प्रहरी कार्यालयभित्रै डोजर चलाइरहेका एक युवालाई गोली लागेको थियो। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

आन्दोलनकर्मीहरूले पोखराको रत्नचोकस्थित अभि इक्युपमेन्ट डिभिजन कार्यालयबाट डोजर, लोडर, स्काभेटर र टिप्पर कब्जा गरी सडकमा चलाउँदै तोडफोड गरेका थिए। यसै क्रममा पोखराका अधिकांश प्रमुख सरकारी निकायहरू तोडफोड र आगजनीको चपेटामा परेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट