जेन–जी आन्दोलनमा उच्छृङ्खल गतिविधि गर्ने ४३ जना पक्राउ

जेन–जी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधि र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। भदौ २४ गते काठमाडौँमा विभिन्न प्रहरी युनिट र सवारी साधनमा आगजनी भएको घटनामा संलग्न रहेको आरोपमा हालसम्म ४३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्।
उनका अनुसार, पक्राउ परेकामाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ। कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१३ का सचिन खड्का ‘गोल्डेन’ पक्राउ परेका छन्। नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँटका प्रहरी युनिटमा आगजनी गरेको अभियोगमा ६ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा रौतहटका १९ वर्षीय अंशुकुमार गुप्ता, सप्तरीका २८ वर्षीय देवराज राय ‘रवि’, सर्लाहीका १८ वर्षीय मुकेश शाह ‘अजय’, धनुषाका १९ वर्षीय अजयकुमार शाह ‘हिरो’, रौतहटका २४ वर्षीय लक्किबावु जैसवाल र रौतहटकै १८ वर्षीय शैरव यादव ‘मोटे’ छन्।
यस्तै, प्रहरी वृत्त महाराजगन्जमा आगजनी गरेको आरोपमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–४ घर भई धापासी बस्ने देवराज लामा पक्राउ परेका छन्।
त्यसैगरी, महाराजगन्जमा प्रहरीको हत्या प्रकरणमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेका युवराज क्यापछाकी र सिन्धुपाल्चोकका ओम पौडेल रहेका छन्।
उक्त घटनामा असई मिलन राय र प्रहरी जवान उत्तम थापाको मृत्यु भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस