Techie IT
२०८२ चैत्र १७, मंगलबार

जेनजी आन्दोलनमा गोलीकाण्डका आरोपी पूर्व सिडियो रिजाल हाजिर जमानीमा रिहा


काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ।

मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले रिजाललाई काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो। पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले जेनजी आन्दोलनका बेला बानेश्वरमा किशोरहरूको ज्यान जाने घटनाबारे सोधपुछ गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार, सहसचिव रिजाललाई आवश्यक परेका बेला उपस्थित हुने सर्तमा हाजिर जमानीमा रिहा गरिएको हो।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन सीडीओ रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। भदौ २३ र २४ गते प्रदर्शन हुँदा उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए।

बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको आरोपमा रिजालको तीव्र आलोचना हुँदै आएको छ। तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगसमक्ष उनले घातक हतियार प्रयोग गर्न आदेश नदिएको बयान दिएका छन्।

उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ परिसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट