काठमाडौंमा प्रहरीको रफ्तार बढ्यो, एक महिनामा १,१६६ मुद्दा दर्ता
जिल्ला प्रहरी परिसर काठमाडौंले चैत महिनामा कुल १ हजार १६६ वटा मुद्दा दर्ता गरेको जनाएको छ। तीमध्ये जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य प्रकृतिका ३४२ मुद्दा रहेका छन्।
परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, सो अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी दुई वटा मुद्दा दर्ता गर्दै तीन जनालाई प्रतिवादी बनाइएको छ। उक्त मुद्दामा २२ करोड ७५ लाख ९६ हजार ४८८ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।
त्यसैगरी, हुण्डी कारोबार नियन्त्रण अभियानअन्तर्गत तीन वटा मुद्दामा सात जनालाई प्रतिवादी बनाइएको छ। ती मुद्दामा एक करोड ५६ लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले नागार्जुन नगरपालिका–८ भीमढुंगाबाट हुण्डी तथा भर्चुअल करेन्सी कारोबारमा संलग्न दुई जनालाई एक करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ। उनीहरूमाथि अभौतिक मुद्रा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
यसैबीच, काठमाडौं महानगरपालिका–२६ ठमेलबाट करिब १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ बराबरको अभौतिक मुद्राको कारोबारमा संलग्न एक चिनियाँ नागरिकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
एक महिनाको अवधिमा हराएका २७३ जनामध्ये १५९ जनालाई प्रहरीले फेला पारी परिवारको जिम्मा लगाएको छ। साथै, साइबर अपराध तथा ठगीसम्बन्धी २६१ वटा मुद्दा दर्ता भएका छन्, जसमा अनलाइन सपिङका नाममा भएका ठगीका मात्रै १०० मुद्दा रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस