बिदा बसेकी वरिष्ठतम न्यायाधीश मल्ल काममा फिर्ता
सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन लामो बिदापछि सोमबारदेखि काममा फर्किएकी छन्। नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै बिदामा बसेकी मल्ल सोमबार अदालत हाजिर भएकी हुन्।
उनले आजैदेखि नियमित रूपमा मुद्दाको सुनुवाइ सुरु गर्नेछिन्। सर्वोच्चको दैनिक पेसी सूचीअनुसार उनको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाहरू तोकिएका छन्।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको वरीयतामा चौथो नम्बरमा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि वरिष्ठतम न्यायाधीश मल्ल असन्तुष्ट बनेकी थिइन्। रोलक्रममा पहिलो नम्बरमा रहेकी मल्ल, दोस्रो नम्बरका न्यायाधीश कुमार रेग्मी र तेस्रो नम्बरका न्यायाधीश हरिप्रसाद फुयाललाई पन्छाएर शर्मालाई प्रधानन्यायाधीश बनाइएको थियो।
यही असन्तुष्टिका कारण शर्माले प्रधानन्यायाधीशको रूपमा पदभार ग्रहण गर्नुअघि नै मल्लले आफैँ कायममुकायम (कामु) प्रधानन्यायाधीश रहेको समयमा बिदा स्वीकृत गराएकी थिइन्।
नयाँ प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत गर्ने औपचारिक कार्यक्रममा समेत वरिष्ठतम न्यायाधीश मल्ल अनुपस्थित रहेकी थिइन्। सो क्रममा उनीपछिको रोलक्रममा रहेका न्यायाधीश कुमार रेग्मीले प्रधानन्यायाधीश शर्मालाई स्वागत गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस