बाजुरा–हुम्ला सीमा विवाद घटनामा संलग्न २१ जना पक्राउ
बाजुरा र हुम्लाबीचको सीमा विवादसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोपमा २१ जनालाई पक्राउ गरिएको छ। उक्त घटनामा २३ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएकोमा हालसम्म २१ जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार पक्राउ परेका हुम्लाका बासिन्दालाई जिल्ला सदरमुकाम ल्याइँदै छ। उनीहरूलाई नियन्त्रणमा लिन तथा अनुसन्धान प्रक्रिया अघि बढाउन हुम्ला प्रहरीसँग समन्वय गरिएको थियो।
घटनामा घाइते भएकी मीनु कुँवरका बुबाले आरोपितहरूविरुद्ध किटानी जाहेरी दिएका थिए।
हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर जेठ २ गतेदेखि ५ गतेसम्म विवाद चर्किएको थियो। सो क्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा कर्मचारीमाथि कुटपिट भएको तथा पर्यटकहरूलाई रानीसैन (साइपाल हिमालको पूर्वी बेस क्याम्प) भ्रमणमा अवरोध गरिएको आरोप छ।
प्रहरीका अनुसार घटनामा हुम्लाको खारपुरनाथ गाउँपालिका–२ थाली गाउँ तथा आसपासका बासिन्दाको संलग्नता रहेको बताइएको छ।
विवाद प्रभावित क्षेत्रमा सुरक्षा अवस्था सुदृढ बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा बेस स्थापना गरिसकिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस