Techie IT
२०८३ श्रावण २, शनिबार

उच्च अदालत नेपालगञ्जको प्रगति: दुई वर्ष पुराना सबै मुद्दा फर्छ्यौट, आगजनीका कारण लक्ष्यमा भने धक्का


उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३ मा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट गर्न सफल भएको छ। शुक्रबार अदालतको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै न्यायाधीश बामदेव ज्ञवालीले कुल लगतमा रहेका २ हजार १६३ मुद्दामध्ये १ हजार ३५४ मुद्दा फर्छ्यौट भएको जानकारी दिए, जुन प्रतिशतका आधारमा ६२.६० प्रतिशत हो।

अदालतका अनुसार फर्छ्यौट भएका मुद्दाहरूमा देवयानीतर्फ अंशवण्डा, माना चामल र सम्बन्ध विच्छेद तथा फौजदारीतर्फ लागूऔषध, जबर्जस्ती करणी, चोरी–डकैती, ज्यान मार्ने उद्योग, बैंकिङ कसुर र कीर्ते जालसाजी लगायतका छन्। बाँकी मुद्दा र आगामी योजना: असार मसान्तसम्म १८ महिना पूरा भएका १५ वटा मुद्दा मात्र फर्छ्यौट हुन बाँकी छन्। ती मुद्दालाई आगामी साउनभित्रै टुङ्गो लगाउने अदालतको लक्ष्य छ।

अदालतले चालू आर्थिक वर्षमा २ हजार ४९० मुद्दाको लगत अनुमान गर्दै १ हजार ७४३ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको थियो। यस आधारमा लक्ष्यको ७७.७ प्रतिशत उपलब्धि हासिल भएको छ। गत आर्थिक वर्षबाट सरेका ६४२ र नयाँ दर्ता भएका १ हजार ५२१ गरी कुल २ हजार १६३ मुद्दामध्ये १ हजार ३५४ फछ्र्यौट भई हाल ८०९ मुद्दा विचाराधीन अवस्थामा छन्।

विगत तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा अदालतको मुद्दा फर्छ्यौट दरमा केही गिरावट आएको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा ७१.४१ प्रतिशत र २०८१/८२ मा ७५.७४ प्रतिशत मुद्दा फर्छ्यौट भएकोमा यस वर्ष यो दर ६२.६० प्रतिशतमा खुम्चिएको छ। गत भदौ २३ र २४ गतेको 'जेनजी' आन्दोलनका क्रममा अदालतमा आगजनी भएपछि करिब चार महिना मुद्दा सुनुवाइ प्रक्रिया पूर्ण रूपमा ठप्प भयो, जसका कारण फर्छ्यौट दरमा केही गिरावट आएको न्यायाधीश ज्ञवालीले बताएका छन्। यद्यपि, अदालतले आगोबाट जलेका ७५३ वटा मिसिलको प्राप्ति तथा प्रमाणीकरण कार्य भने शतप्रतिशत सम्पन्न गरिसकेको जनाएको छ।

उच्च अदालत मातहतका बाँके र बर्दिया जिल्ला अदालतको कार्यसम्पादन विवरण पनि सार्वजनिक गरिएको छ । बाँके जिल्ला अदालतमा कुल ७ हजार ४७ वटा मुद्दामध्ये २ हजार ७३३ वटा मात्र फर्छ्यौट भएका छन्। यहाँ ४ हजार ३१४ मुद्दा अझै विचाराधीन रहँदा फर्छ्यौट दर तुलनात्मक रूपमा न्यून (३८.८ प्रतिशत) देखिएको छ। यसैगरी, बर्दिया जिल्ला अदालतमा भने समीक्षा अवधिमा १ हजार ३१२ वटा मुद्दा फर्छ्यौट भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट