ठगी मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ
चेक अनादर (बैंकिङ कसुर) मुद्दामा २ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको उर्लाबारी नगरपालिका-५ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-५ बस्ने ४५ वर्षीय गोविन्द खत्रीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका-४, जावलाखेलबाट पक्राउ गरेको हो।
जिल्ला अदालत काठमाडौं (बबरमहल) को २०८० माघ ११ गतेको फैसलाले खत्रीलाई चेक अनादर मुद्दामा २ करोड ५३ लाख १ हजार ९ सय १८ रुपैयाँ बिगो, २ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो। फैसलापछि फरार रहेका उनलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानीका लागि जिल्ला अदालत बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस