Techie IT
२०८२ जेष्ठ १०, शनिबार

भिजिट भिसा प्रकरणमा गृह प्रशासनको भूमिकामाथि प्रश्न ?

यदि लेनदेन छैन भने सुरक्षा संवेदनशील स्थलमा अयोग्यलाई किन पठाइन्छ?


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जान चाहने युवाबाट अवैध रुपमा रकम असुली हुँदै आएको खुलासा भएसँगै गृह मन्त्रालयका उच्च तहका अधिकारीसमेत अनुसन्धानको घेरामा तानिएका छन् ।

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । साथै, मन्त्रालयले शुक्रबार मात्रै अध्यागमन कार्यालयमा कार्यरत १४ कर्मचारीलाई हटाएको छ ।

हटाइएका अधिकांश कर्मचारी नायब सुब्बा तहका छन् । अनुसन्धानकै बीचमा कर्मचारी हटाउनुले मन्त्रालयको नियतमाथि शंका उब्जिएको छ । एक सरकारी अधिकारीका अनुसार, भिजिट भिसाको नाममा भइरहेको रकम असुलीमा गृह प्रशासनकै संलग्नता देखिएको छ ।

गृहमन्त्री रमेश लेखककै सचिवालयमा कार्यरत अधिकृत विमल पौडेल यसअघि भिजिट भिसाका नाममा भएको मानव तस्करीमा मुछिएका थिए । २०८० माघ १८ मा जिल्ला अदालत, काठमाडौंमा दर्ता भएको ठगी मुद्दामा पौडेल प्रतिवादी थिए ।

२०८० पुस २० मा अध्यागमनका तत्कालीन अधिकृत नरवीर खड्का २ लाख रुपैयाँसहित पक्राउ परेपछि यो प्रकरण सतहमा आएको थियो । खड्कासँगै पक्राउ परेको मोबाइलमा ६६ जना युवाको नाम समावेश सूची फेला परेको थियो, जसमा हालसालै विदेश गएका नागरिकहरू थिए ।

खड्काले प्रहरीसमक्ष दिएको बयानअनुसार गृह मन्त्रालयमै कार्यरत अधिकृतहरूको संलग्नतामा "भिजिट भिसा सहजिकरण समिति" नामक समुह बनाएर रकम संकलन हुने गरेको थियो । उनले "प्रत्येक कर्मचारीको भागमा औसतमा ४०–५० हजार रुपैयाँ पुग्ने" बताएका थिए । उनले मनोज तामाङ र पदम लामालाई 'सेटिङ मिलाउने' प्रमुख एजेन्टका रूपमा नाम पनि लिएका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन डीएसपी गोविन्द पन्थीले अनुसन्धान अघि बढाइरहेका बेला सरुवा गरियो । एसपी रवीन्द्र रेग्मीका अनुसार, सेवा निवृत्त हुन केही महिना बाँकी रहेका डीएसपी पन्थीको सरुवा अस्वाभाविक थियो ।

डीएसपी पन्थीले 'संगठित अपराध' अन्तर्गत मुद्दा अघि बढाउन सरकारी वकिलसँग विवाद भएको र आफूलाई अप्रत्यक्ष रूपमा अख्तियारमा लैजाने धम्कीसमेत दिइएको बताएका छन् ।

अनुसन्धान गरिरहेका एक अधिकृतका अनुसार, त्रिभुवन विमानस्थलबाट दैनिक कम्तीमा ४० लाख रुपैयाँसम्म असुली हुने गरेको छ । खाडी मुलुक जान चाहनेले ५०–७५ हजार रुपैयाँ र युरोपियन मुलुकका लागि ३–४ लाख रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको उनले बताए ।

भिजिट भिसाका यात्रुलाई छुट्टै फोनमार्फत 'एल' (महिला) र 'एस' (पुरुष) कोड प्रयोग गरी अध्यागमन पार गराउने गरिएको स्रोत बताउँछन् ।

नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, “विमानस्थलजस्तो संवेदनशील ठाउँमा अयोग्य कर्मचारीलाई जिम्मा दिइनुले गृह प्रशासनको नियतमाथि प्रश्न उठ्छ ।”

उनका अनुसार तस्करी आफैँमा संगठित अपराध हो र यस्तो अपराधमा उच्च तहको संरक्षण रहन्छ। पूर्व एआईजी भण्डारी भन्छन्, “यदि लेनदेन छैन भने सुरक्षा संवेदनशील स्थलमा अयोग्यलाई किन पठाइन्छ?”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट