किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

रौतहटको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाले कृषिलाई विकासको मेरुदण्डका रूपमा प्राथमिकता दिँदै आएको छ।
२०७९ सालको स्थानीय तह निर्वाचनपछि पदभार सम्हालेका नगरप्रमुख मेयर कन्थमणिप्रसाद जयसवालको नेतृत्वमा कृषक हितका नीति, सिँचाइ पूर्वाधार निर्माण र आधुनिक कृषि प्रविधिको विस्तारलाई निरन्तर अघि बढाइँदैछ।
मेयर जैसवालको पहलमा नगरपालिकाले सुरु गरेको निःशुल्क कृषि मिटर योजना यस क्षेत्रका किसानका लागि महत्वपूर्ण परिवर्तनको आधार बनेको छ। हालसम्म ३०० भन्दा बढी पोल गाडेर कृषि मिटर जडान गरिएको छ र किसानले खपत गरेको विद्युत शुल्क पालिकाले नै भुक्तानी गरिरहेको छ। यस कदमले सिँचाइको लागत घटाउँदै उत्पादन क्षमतामा प्रत्यक्ष योगदान गरेको छ।
आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालन भएको “कृषि, पशु, डेरी यान्त्रीकरण तथा भैँसी वितरण कार्यक्रम” मार्फत कृषकहरूलाई १४० वटा भैँसी, ५७ वटा विद्युत मोटर, ५४ वटा पम्पसेट, २० वटा मिल्क्यान, विभिन्न क्षमताका चिलिङ भ्याट र डिफ्रिज, दुईवटा मिल्क पम्प, तीनवटा मिल सेपरेटर वितरण गरिएको छ।
त्यससँगै तीनवटा कुखुराको खोर र तीनवटा पोखरी निर्माण सम्पन्न भएको छ भने कोल्ड स्टोर, एग्रोमार्ट र बजार सेड निर्माण कार्य तीव्र गतिमा भइरहेको मेयर जैसवालले बताए ।
नगरपालिकाले कुलो सरसफाइ र कृषि सडक निर्माणलाई पनि प्राथमिकतामा राखेको छ। हालसम्म जयनगर, गेडही, मलाही टोललगायत पाँच वडामा कृषि सडक निर्माण सम्पन्न भएको छ, जसले बजार पहुँच र ढुवानी प्रणालीमा सुधार ल्याएको छ।
नगरप्रमुख जयसवालका अनुसार संघ र प्रदेश सरकारसँगको सहकार्यमा कृषकको जीविकोपार्जन उकास्ने दीर्घकालीन योजना कार्यान्वयन भइरहेको छ। आगामी वर्षहरूमा कृषिजन्य भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा अझ ठूलो लगानी गर्ने योजना रहेको छ। उनले भने, “कृषिमा ठूलो लगानीसँगै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई पनि समान प्राथमिकतामा राखेर महानगरवासीको जीवनस्तर उकास्ने लक्ष्यसहित योजनाबद्ध रूपमा काम गरिरहेका छौं।”
तपाईको प्रतिक्रिया दिनुहोस