बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलनाको कारबाही प्रक्रिया शुरु

नेपाल बार एसोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना जन्य अभिव्यक्ति दिएको आरोपमा सर्वोच्च प्रशासनले कारबाही प्रक्रिया अघि बढाएको छ। उपरजिष्ट्रार गोविन्द घिमिरेले अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै तयार गरेको प्रतिवेदन दर्ता भएको जानकारी प्राप्त भएको छ।
सर्वोच्च प्रशासनका अनुसार, “बार अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालत र प्रधानन्यायाधीश विरुद्ध भ्रामक र अनर्गल टिप्पणी गरेको भन्दै अदालतको अवहेलनामा कारबाही गर्न प्रतिवेदन दर्ता गरिएको छ।” यस मुद्दामा भोलि पेसी तोकिएको छ।
आजै न्याय परिषद्ले पनि बार अध्यक्षले अदालत, न्याय परिषद् र प्रधानन्यायाधीशविरुद्ध कुलषित मनसायले अनर्गल र सर्वसाधारणलाई भ्रममा पार्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै खेद प्रकट गरेको थियो।
नेपाल बारले अहिले मुख्य रजिष्ट्रारलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा वरियतामा मुख्य न्यायाधीशभन्दा मुनि र अरू न्यायाधीशभन्दा माथिको रोलक्रम दिने गरी बनाइएको नियमावली खारेज गर्न माग गर्दै विरोध कार्यक्रम गर्दै आएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस