जेनजी आन्दोलपछि वीरगन्ज महानगरपालिकाको बजेट संशोधन, पुनः निर्माणमा लगानी गर्ने

वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेट संशोधन गरी पुनः निर्माण कार्यमा खर्च गर्ने निर्णय गरेको छ। शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगरसभा) ले पुनः निर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो।
भदौ २४ गतेको प्रदर्शन क्रममा महानगरपालिकाको कार्यालय भवनसहित सम्पूर्ण संरचना आगजनी, तोडफोड र लुटपाटबाट ध्वस्त भएको थियो। नगरवासीलाई सेवा निरन्तरता सुनिश्चित गर्न पुनः निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै नगरसभाले चालु आवको बजेट संशोधन गर्ने निर्णय गरेको हो।
विशेष नगरसभामा महानगर प्रमुख राजेशमान सिंहले संशोधित बजेट प्रस्तुत गरेका थिए। महानगरको १७औं नगर परिषदले यसअघि आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो। विशेष अधिवेशनले नगरस्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडा स्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनः निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ।
संशोधनपश्चात् करिब ३० करोड रुपैयाँ पुनः निर्माणका लागि उपलब्ध हुने भएको छ। संशोधित बजेटले प्रशासनिक भवन निर्माण, सवारी साधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर तथा फर्निचर खरिद, कार्यालय भवन मर्मत, गाडी भाडा, बिजुलीबत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च गर्ने प्रावधान गरेको छ। यसमार्फत नगर पुनः निर्माण, भौतिक संरचना पुनः स्थापना र प्रशासनिक क्षमता अभिवृद्धि कार्य अघि बढाइनेछ।
साथै, विशेष अधिवेशनले जेन–जी आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर वीरगन्ज महानगरपालिका–१२ का युवा सहादत असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस