बाढीपहिरोले सोहोर्यो निसीखोला: एकै परिवारका चारसहित ५ को मृत्यु
बागलुङ। असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोले बागलुङको निसीखोला गाउँपालिकामा ठूलो धनजनको क्षति पुर्याएको छ। बाढीपहिरोमा परी ५ जनाको ज्यान गएको छ भने करिब १० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।
निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरका अनुसार गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा श्यामकुमारी विक र उनका तीन छोराहरू मनोज, मुकेश तथा निसान विक रहेका छन्। यस्तै, निसीखोला–६ मा गोठ पुरिँदा सुतिरहेका सुर्ज घर्तीमगरको मृत्यु भएको छ।
बाढी र पहिरोले गाउँपालिका–४ स्थित कानाबगर र झिवाखोला बजारको केही भागलाई बगरमा परिणत गरिदिएको छ। मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा व्यापक क्षति पुगेको छ भने झिवाखोलाको पुरानो बजार, हार्डवेयर, फर्निचर, किराना पसल, लिटिल रोज बोर्डिङ स्कुल र स्थानीय प्रहरी चौकीमा समेत क्षति पुगेको छ।
प्रारम्भिक विवरण अनुसार गाउँपालिकाभर कुल ९ करोड ९२ लाख २९ हजार ९५० रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस