नेपालकै उत्कृष्ट ललितपुर महानगर रहेको मेयर महर्जनको दाबी
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो महानगरपालिकाले नेपालका सबै नगरपालिकाहरूमध्ये उत्कृष्ट काम गरेको दाबी गरेका छन्। २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ को अवसरमा शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।
मेयर महर्जनले आफूले चुनावमा बोलेका सबै कुराहरू पूरा गरेको जिकिर गर्दै आफ्नो महानगरपालिकाले हरेक वर्ष दुई-तीनवटाभन्दा बढी राष्ट्रिय स्तरको पुरस्कार पाउनु राम्रो कामको प्रमाण भएको बताएका छन् ।
मेयर महर्जनले महानगरपालिकाले प्राप्त गरेका सफलता र पुरस्कारको श्रेय मातहतका निकाय तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वयंसेविकाहरूलाई दिए। उनले भने, "हामीले गरेका कामको स्तरको निर्धारण हामी आफैँले गरेको होइन। तर, आम नेपाली दाजुभाइ दिदीबहिनीहरू ललितपुर महानगरपालिका भन्नसाथ साह्रै राम्रो काम गर्ने पालिका हो भनेर सबका सब चिन्ने गरेका छन् ।"
स्वास्थ्य क्षेत्रमा विज्ञता नभएकाले स्वयंसेविकाहरूले दिएका सुझावहरूलाई ग्रहण गरेर कार्यान्वयन गरेको मेयर महर्जनले स्पष्ट पारे। उनले स्वयंसेविकाहरूको योगदान, लगनशीलता र सुझावहरूको नतिजा स्वरूप नै महानगरपालिकाले सफलता पाएको बताएका छन् ।
अपाङ्गता क्षेत्रमा पनि उत्कृष्ट पुरस्कार
मेयर महर्जनले हालै सङ्घीय सरकारले अपाङ्गताको क्षेत्रमा सबै नगरपालिकाभन्दा राम्रो काम गरेको भन्दै ललितपुरलाई पुरस्कृत गरेको जानकारी दिए। उनले यो पुरस्कार पाउनु टिम वर्कको परिणाम रहेको बताउँदै टिम वर्ककै कारण ललितपुर महानगरपालिकाले एकपछि अर्को सफलता हासिल गर्दै गएको उल्लेख गरे।



तपाईको प्रतिक्रिया दिनुहोस