विपिन जोशीको स्मृतिमा कञ्चनपुरमा शालिक स्थापना हुने
प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएको अवस्थामा ज्यान गुमाएका कञ्चनपुरका २४ वर्षीय विद्यार्थी विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले शालिक स्थापना गर्ने निर्णय गरेको छ।
भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगन धामीका अनुसार नगरपालिकाको कार्यपालिकाले स्वर्गीय जोशीको घरतर्फ जाने पूर्व–पश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडक जोडिने मुख्य चोकलाई ‘विपिन जोशी चोक’ नामकरण गर्ने तथा सोही स्थानमा उनको शालिक निर्माण गर्ने निर्णय गरेको हो। शालिक निर्माणका लागि नगरपालिकाले प्रारम्भिक रूपमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।
“कार्यपालिकाबाट विपिनको स्मृतिमा चोक नामकरण गरी शालिक निर्माण गर्ने निर्णय भइसकेको छ,” वडाध्यक्ष धामीले भने, “हाल विनियोजित रकम पर्याप्त नभएकाले आगामी आर्थिक वर्षमा थप बजेट व्यवस्था गरी शालिक स्थापना कार्यलाई पूर्णता दिइनेछ।”
यसअघि भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले पनि विपिन जोशीको स्मृतिमा शालिक स्थापना गर्ने प्रतिबद्धता सार्वजनिक रूपमा जनाएका थिए। स्थानीय तहको निर्णयसँगै नगरपालिकाले विपिनको योगदान र बलिदानलाई दीर्घकालीन रूपमा स्मरण गर्ने उद्देश्य लिएको जनाएको छ।
विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि सङ्कायमा अध्ययनरत थिए। दुई वर्षअघि विश्वविद्यालयका ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। इजरायल पुगेको एक महिनाभित्रै हमासले गरेको आक्रमणमा ती विद्यार्थीहरू प्रभावित भएका थिए।
हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिन जोशीलाई बन्धक बनाइएको थियो। लामो समयसम्म उनको अवस्थाबारे स्पष्ट जानकारी नआउँदा परिवार, विश्वविद्यालय र नेपाली समाजमा चिन्ता र प्रतीक्षा जारी थियो। अन्ततः बन्धक बनाएकै अवस्थामा विपिनको निधन भएको पुष्टि भएको थियो।
गत कात्तिकमा इजरायल–हमासबीच जारी युद्ध अन्त्यका लागि अमेरिकाको पहलमा प्रस्ताव गरिएको मध्यपूर्व शान्ति योजनाको पहिलो चरणअनुसार बन्धक र प्यालेस्टिनी कैदीहरू रिहा गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार हमासले विपिन जोशीको शव हस्तान्तरण गरेको थियो।
नगरपालिकाले विपिनको स्मृतिमा शालिक स्थापना र चोक नामकरण गर्ने निर्णयलाई विदेशमा अध्ययन तथा रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली युवाप्रति श्रद्धाञ्जली र सम्मानको रूपमा लिएको बताएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस