Techie IT
२०८२ फागुन १, शुक्रबार

दुई सातापछि उठ्न थाल्यो पोखराको फोहोर, स्थायी समाधान अझै अनिश्चित


पर्यटकीय राजधानी पोखरामा दुई सातापछि बिहीबार साँझदेखि फोहोर सङ्कलन सुरु गरिएको छ। बजार क्षेत्रका सडक किनार र चोकहरूमा थुप्रिएको फोहोर लामो समयसम्म नउठ्दा सहर दुर्गन्धित बनेको थियो।

पोखरा महानगरपालिका–३२ लामेआहालस्थित अस्थायी फोहोर व्यवस्थापन केन्द्र भरिएपछि फोहोर उठाउन नसकिएको थियो। वैकल्पिक स्थान खोज्ने प्रयास भए पनि स्थानीय विरोधका कारण सफल हुन सकेन। सडक किनार, चोक, बिजुलीका पोल वरिपरि मात्र नभई मुख्य सडकमै फोहोर थुप्रिँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिएको थियो।

महानगर प्रमुख धनराज आचार्यले बिहीबार साँझदेखि क्रमशः फोहोर सङ्कलन गर्ने गाडी सञ्चालनमा आएको जानकारी दिए। उनले सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न नगरवासीलाई आग्रह गरे। यद्यपि, सङ्कलित फोहोर कहाँ व्यवस्थापन गरिने भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन।

प्रमुख आचार्यका अनुसार तत्कालीन, अल्पकालीन र दीर्घकालीन समाधानका लागि विभिन्न विकल्पमा काम भइरहेको छ। “धेरै दिनदेखि थुप्रिएको फोहोर भएकाले सुरुका एक–दुई दिन चाप बढी हुन सक्छ, तर कृपया सार्वजनिक स्थानमा फोहोर विसर्जन नगर्नुहोस्,” उनले भने। शनिबारसम्म हालसम्म थुप्रिएको सम्पूर्ण फोहोर उठाइसक्ने लक्ष्य महानगरले लिएको छ।

जथाभावी फोहोर फालिएको पाइए अनुगमन टोलीले स्थलमै कारबाही गर्ने चेतावनी पनि महानगरले दिएको छ।

पोखरामा ‘जेनजी आन्दोलन’ का क्रममा ठूलो मात्रामा फोहोर निस्किएपछि लामेआहालको ल्यान्डफिल साइट भरिएको थियो। यसबीचमा विभिन्न स्थानमा फोहोर व्यवस्थापन केन्द्र निर्माणको प्रयास भए पनि स्थानीयको विरोधका कारण प्रक्रिया अघि बढ्न सकेन।

महानगरले बुधबार सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गरी ७२ घण्टाभित्र फोहोर उठाउने र सबै पक्षले सहयोग गर्ने सहमति जुटाएको जनाएको छ।

यसैबीच, महानगरले पोखरा–३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको छ। तर समन्वय र सहमतिबेगर निजी कम्पनी छनोट गरिएको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन्, जसका कारण स्थायी समाधानको प्रक्रिया अन्योलमै रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट