Techie IT
२०८२ फागुन ७, बिहीबार

खुलामञ्च अब वडाको जिम्मामा, के छन् नयाँ प्रावधानहरु?


काठमाडौं महानगरपालिका ले खुलामञ्चको संरक्षण र सञ्चालनलाई थप व्यवस्थित बनाउन नयाँ व्यवस्थापकीय मोडेल लागू गर्ने निर्णय गरेको छ। महानगरको राजस्व समितिको बैठकले खुलामञ्चको सम्पूर्ण प्रयोग तथा व्यवस्थापनको अधिकार वडा नम्बर २७ लाई सुम्पिने निर्णय गरेको हो।

राजस्व समितिका संयोजक तथा वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुलीको संयोजकत्वमा बसेको विषयगत समितिको बैठकले उक्त सिफारिस गरेको हो। यसअघि खुलामञ्चमा हुने राजनीतिक तथा सामाजिक कार्यक्रमहरूको व्यवस्थापन प्रशासन विभाग र महानगर प्रहरी बलको समन्वयमा हुँदै आएको थियो। अबदेखि भने स्थानीय वडालाई नै प्रत्यक्ष जिम्मेवारी दिइनेछ।

महानगरका प्रवक्ता नवीन मानन्धर र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको उपस्थितिमा बसेको बैठकले कार्यक्रम आयोजना गर्न चाहने पक्षले निश्चित सर्त पूरा गरी वडा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। निर्णय कार्यान्वयनमा आएसँगै मञ्चको दैनिक रेखदेख तथा व्यवस्थापन वडास्तरबाटै हुनेछ।

नयाँ व्यवस्थाअनुसार खुलामञ्च प्रयोग गर्न चाहने संघसंस्था वा राजनीतिक दलले वडा नम्बर २७ को धरौटी खातामा अनिवार्य रूपमा २५ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ।

कार्यक्रम सञ्चालनका लागि समयलाई दुई सिफ्टमा विभाजन गरिएको छ । जसमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म पहिलो सिफ्ट र दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म दोस्रो सिफ्ट रहेका छन् ।

प्रत्येक सिफ्टका लागि मर्मत–सम्भार तथा विद्युत् महसुल वापत ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। कार्यक्रमका क्रममा भौतिक क्षति पुगेमा प्राविधिक प्रतिवेदनका आधारमा धरौटीबाट क्षतिपूर्ति कट्टा गरिनेछ। धरौटी रकम अपुग भएमा थप रकमसमेत असुल गरिने महानगरले जनाएको छ।

संयोजक पराजुलीका अनुसार सिफ्ट प्रणाली र धरौटी व्यवस्थाले मञ्चको सुरक्षा सुनिश्चित गर्नुका साथै आयोजकहरूमा जिम्मेवारीबोध बढाउने अपेक्षा गरिएको छ।

साथै, खुलामञ्चको सौन्दर्य र स्वच्छता जोगाउन महानगरले कडा बन्देजहरू लागू गरेको छ। आयोजकले आफ्नो पहिचान झल्किने ब्यानर बाहेक कुनै विज्ञापनजन्य सामग्री वा होर्डिङ बोर्ड राख्न पाउने छैनन्।

टिकट बिक्री गरेर गरिने व्यावसायिक कार्यक्रम पूर्ण रूपमा निषेध गरिएको छ। अनुमति लिएको पक्षले तेस्रो पक्षलाई मञ्च हस्तान्तरण गर्न नपाउने प्रावधान पनि राखिएको छ।

कार्यक्रमबाट उत्पन्न हुने फोहोर व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी आयोजककै हुनेछ। थप शौचालय आवश्यक परेमा आफ्नै खर्चमा घुम्ती शौचालय राख्नुपर्नेछ।

मञ्चको संरचना बिग्रिने गरी खाल्डो खन्न, हरियाली नष्ट गर्न, सवारीसाधन लैजान वा पार्किङ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। साथै मञ्च क्षेत्रभित्र धुम्रपान तथा मदिरा बिक्री–वितरण र सेवनमा समेत रोक लगाइएको छ। उल्लंघन भएमा आर्थिक ऐन बमोजिम जरिवाना तथा कारबाही गरिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट