करार म्याद थप्न पनि घुस, मेयरविरुद्ध अख्तियारको मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
करार सेवाको म्याद थप गरिदिने नाममा १ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले घुस लिने र दिने दुवै पक्षविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७९/०८० मा करार सेवा नवीकरणका लागि मेयर वादीले कर्मचारी मोहन शाहसँग १ लाख रुपैयाँ घुस लिएको पाइएको छ। शाह नगरपालिकामा कार्यरत सब–इन्जिनियर हुन् र लामो समयदेखि करार सेवामा कार्यरत थिए।
अनुसन्धानका क्रममा २०८० साउन ८ गते शाहले मेयर वादीको बैंक खातामा १ लाख रुपैयाँ जम्मा गरेको प्रमाण फेला परेको अख्तियारले जनाएको छ।
त्यसपछि पुनः म्याद थपका लागि मेयरले थप १ लाख रुपैयाँ मागेको तर रकम दिन नसकेपछि शाहलाई सेवाबाट हटाइएको तथ्य पनि अनुसन्धानबाट खुलेको छ।
अख्तियारका अनुसार मेयरले आफ्नो पदको दुरूपयोग गर्दै सेवामा निरन्तरता दिलाइदिने बहानामा घुस लिएका हुन्। घुस लिने र दिने दुवै कसुरमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको छ।
उनीहरूविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गर्दै कैद सजायसमेत मागदाबी गरिएको छ।
मेयर पुष्प वादी २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस