ललितपुरमा ‘वातावरण भ्यान’ सञ्चालन: प्रदूषण गर्नेविरुद्ध कडा कारबाही सुरु
ललितपुर महानगरपालिकाले वातावरण संरक्षण र सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउन बिहीबारदेखि ‘वातावरण भ्यान’ सेवा सुरु गरेको छ। महानगरका मेयर चिरीबाबु महर्जनले उक्त सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।
महानगरका अनुसार भ्यानमार्फत क्षेत्रगत अनुगमनलाई तीव्र बनाइनेछ भने प्रदूषण नियन्त्रणसम्बन्धी कारबाहीलाई थप सशक्त बनाइनेछ। अभियानमा वातावरण प्रहरीको सक्रिय भूमिका रहनेछ।
वातावरण प्रहरीले खुला रूपमा बालिएका आगो निभाउने, प्लास्टिकजन्य वस्तु जलाउन रोक्ने तथा अत्यधिक धुवाँ उत्सर्जन गर्ने सवारीसाधन र उद्योगहरूको निगरानी गर्नेछन्।
यससँगै, जथाभावी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने, अव्यवस्थित रूपमा विज्ञापन टाँस्ने र रुखबिरुवामा क्षति पुर्याउने कार्यमा कडाइका साथ कारबाही गरिने महानगरले जनाएको छ।
नगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार यस पहलले स्वच्छ, हरित र व्यवस्थित ललितपुर निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस