Techie IT
२०८३ वैशाख १६, बुधबार

नेपालमै पहिलो पटक विद्युतीय फोहोर प्रशोधन तालिम धनगढीमा सुरु


नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधनसम्बन्धी विशेष तालिम कार्यक्रम सुरु गरेको छ। ‘ई–वेस्ट प्रोसेसर ट्रेनिङ अन लोकल सोसियल पार्टनरसिप’ अन्तर्गत सञ्चालन गरिएको दुई महिने तालिम आइतबार एक समारोहका बीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन्।

धनगढी उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा सञ्चालन भइरहेको यस कार्यक्रमको कार्यान्वयन टिकापुर बहुप्राविधिक शिक्षालयले गरिरहेको छ। तालिमलाई काठमाडौँ विश्वविद्यालयले प्राविधिक सहयोग तथा ब्रिटिस काउन्सिलले आर्थिक सहयोग उपलब्ध गराएका छन्। कार्यक्रममा फोहोर व्यवस्थापन कर्मचारी र स्थानीय विद्युतीय व्यवसायी गरी २० जना सहभागी रहेका छन्।

तालिम पूर्णतः व्यवहारिक बनाइएको सिटिटिइभिटी टिकापुरका पारस खड्काले बताए। उनका अनुसार सहभागीहरूले दुई महिनामा विद्युतीय तथा इलेक्ट्रोनिक उपकरणहरूलाई वातावरणीय र सुरक्षाका मापदण्डअनुसार सुरक्षित रूपमा व्यवस्थापन गर्ने सीप हासिल गर्नेछन्। यसअन्तर्गत ई–वेस्टको संकलन, ढुवानी, पहिचान, वर्गीकरण तथा उपकरणहरू सुरक्षित रूपमा खोल्ने र प्रारम्भिक परीक्षण गर्ने विधि सिकाइनेछ। साथै आधुनिक मेसिन तथा औजारहरूको प्रयोगसम्बन्धी ज्ञान पनि प्रदान गरिनेछ।

तालिमको अर्को महत्वपूर्ण पक्ष ई–वेस्टलाई पुनः प्रयोग (reuse) र पुनःचक्रण (recycle) का लागि तयार पार्ने प्रक्रिया हो। यसमा सामग्रीहरूको प्याकिङ, लेबलिङ तथा व्यवस्थापकीय र प्रशासनिक आधारभूत ज्ञानसमेत समावेश गरिएको छ।

काठमाडौँ विश्वविद्यालयका दक्ष प्रशिक्षकहरूले सहजीकरण गरिरहेको यस कार्यक्रमको मुख्य लक्ष्य ई–वेस्ट क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु हो। धनगढीका मेयर गोपाल हमालका अनुसार यस तालिमले सहभागीहरूलाई रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्नुका साथै वातावरणमैत्री फोहोर व्यवस्थापन प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट