गोदावरी नगरपालिका र विन्डम सिटी विच सिस्टर सिटी सम्झौता
अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिका बीच औपचारिक रूपमा ‘मित्रता शहर’ (सिस्टर सिटी) सम्झौता भएको छ।
विन्डम सिटीमा आयोजित विशेष कार्यक्रममा सहकार्यसम्बन्धी सम्झौतामा विन्डम सिटीका मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाको तर्फबाट प्रशासनिक प्रमुख मानबहादुर खड्काले हस्ताक्षर गरेका छन्। सम्झौताका लागि आवश्यक समन्वय गरेको भन्दै दुवै पक्षले पर्यटन व्यवसायी तथा अभियन्ता डिएन घिसिङ प्रति आभार व्यक्त गरेका छन्।
दुवै नगरपालिकाले यस सहकार्यलाई स्थानीय तहमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण तथा ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन्। सम्झौताअनुसार दुई सहरबीच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा दीर्घकालीन सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ।
गोदावरी नगरपालिका प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले समृद्ध क्षेत्रका रूपमा परिचित छ भने विन्डम सिटी आधुनिक पूर्वाधार, बहुसांस्कृतिक समाज र दिगो शहरी विकासको उदाहरणका रूपमा चिनिन्छ। सम्झौतामा दुवै पक्षले भविष्यमा आपसी भ्रमण, सांस्कृतिक आदानप्रदान तथा संस्थागत सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा नेपाली मूलका उद्यमी, व्यवसायी तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस सम्झौताले नेपाल र अष्ट्रेलियाबीचको दीर्घकालीन कूटनीतिक सम्बन्धलाई स्थानीय तहमा अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
वक्ताहरूले शिक्षा, पर्यटन, संस्कृति, वातावरण संरक्षण, आर्थिक तथा सामुदायिक विकासका क्षेत्रमा सहकार्यले दुवै सहरलाई दीर्घकालीन लाभ पुर्याउने अपेक्षा गरेका छन्। करिब ६६ वर्षदेखि कायम नेपाल–अष्ट्रेलिया कूटनीतिक सम्बन्धलाई स्थानीय तहसम्म विस्तार गर्न यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस