Techie IT
२०८३ असोज ५, सोमबार

जिप दुर्घटनाका घाइते भेट्न दुर्गाथलीका अध्यक्ष र उपाध्यक्ष नेपालगंजमा, उपचारमा कमी हुन नदिने प्रतिबद्धता


अघिल्लो हप्ता बझाङको केदारस्युँ गाउँपालिका र दुर्गाथली गाउँपालिकाको सिमानामा भएको जिप दुर्घटनाका घाइतेहरूको उपचारका लागि दुर्गाथली गाउँपालिकाले तदारुकता देखाएको छ। घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न र उपचारमा सघाउन दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा र उपाध्यक्ष जनकबहादुर दौल्याल बाँकेको नेपालगन्ज पुगेका छन्।

आइतबार नेपालगन्जस्थित भेरी अस्पताल र सञ्जीवनी नर्सिङ होममा पुगेर उनीहरूले घाइतेहरूलाई भेट्नुका साथै उपचारको प्रगतिका बारेमा अस्पताल प्रशासन र चिकित्सकहरूसँग छलफल गरेका छन्।

गाउँपालिका अध्यक्ष थापाका अनुसार दुर्घटना हुनासाथ पालिकाकै पहलमा हेलिकप्टरको व्यवस्था गरी घाइतेहरूको उद्धार गरिएको थियो। घाइतेहरूको उपचारका लागि पालिकाले अहोरात्र खटेर सहयोग गरिरहेको र यसमा कुनै कमी हुन नदिने अध्यक्ष थापाले प्रतिबद्धता जनाए।

दुर्घटनाका घाइतेमध्ये चार जनाको नेपालगन्ज र दुई जना गम्भीर घाइतेको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

राहतस्वरूप २ लाख आर्थिक सहयोग
यसैबीच गाउँपालिका अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत घाइतेहरूको उपचारका लागि पालिकाको तर्फबाट तत्कालका लागि राहतस्वरूप कुल २ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको जानकारी दिएका छन्। जसमध्ये १ लाख रुपैयाँ नगद हस्तान्तरण गरिएको र बाँकी १ लाख रुपैयाँ खातामा जम्मा गरिएको उनले बताए। आवश्यकता अनुसार थप सहयोग समेत गरिने पालिकाले जनाएको छ।

अध्यक्ष थापाले घाइतेहरूको उपचारमा नजिकबाट सहयोग पुर्‍याउने बझाङ-बाँके जिल्ला सम्पर्क मञ्चका अध्यक्ष दीपक सिंह, भेरी अस्पतालका मेसु डा. पवनजंग रायमाझी, डा. विक्रम थापा लगायतको चिकित्सक टोलीलाई धन्यवाद ज्ञापन गरेका छन्। साथै उनले देश तथा विदेशबाट सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूप्रति आभार प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट