दाङमा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु
दाङको तुलसीपुरमा जंगली च्याउ खाँदा बिरामी परेकी एक महिलाको शनिबार बेलुकी मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३७ वर्षीया दीपा पुनको थप उपचारका लागि बाँकेको नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
मृतकको शवलाई अहिले पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।
गत असार ३२ गते स्थानीय जंगलबाट खोजेर ल्याएको विषालु च्याउ खाँदा दीपाका घरपरिवारका पाँच जना बिरामी परेका थिए। बिरामी परेकी दीपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार हुन नसकेपछि शुक्रबार बेलुकीपख घोराहीकै सञ्जीवनी हस्पिटल भर्ना गरिएको थियो।
त्यहाँ पनि उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि शनिबार दिउँसो थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको थियो। तर, अस्पताल पुग्नु अगावै बाटोमै उनको प्राण गएको प्रहरीले बताएको छ।
जंगली च्याउ खाएर बिरामी परेका सोही परिवारका अन्य सदस्यहरू ७५ वर्षीया दिलमाया पुन, १४ वर्षीय सुमन बुढाथोकी, ११ वर्षीय विपिन पुन र ७ वर्षीय विवेक पुन भने उपचारपछि निको भएर घर फर्किसकेका छन्। वर्षायाममा जंगलमा उम्रिने जथाभाभी च्याउ नखान र सचेत रहन स्थानीय प्रशासन तथा चिकित्सकहरूले आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस