Techie IT
२०८२ असार ८, आइतबार

जनमत पार्टीकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी


जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत पर्साले जेठ १६ गते उनको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

बर्दियाको गुलरिया नगरपालिका–५ निवासी ४५ वर्षीया रायमाझीलाई पक्राउ गर्न पर्सा प्रहरीले बर्दिया जिल्ला प्रहरी कार्यालयसँग पत्राचार गरिसकेको छ। तर अहिलेसम्म उनी फरार रहेको र खोजी कार्य जारी रहेको बर्दिया प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर पालले जानकारी दिए।

रायमाझीविरुद्ध पर्साकी आशाकुमारी चौहानले बैंकिङ कसुर तथा चेक अनादर मुद्दा दायर गरेकी हुन् । चौहान स्वयं पनि जनमत पार्टीकी नेतृ हुन् । कार्यक्रममार्फत चिनजान भएपछि दुबैबीच सम्बन्ध विस्तार भएको र त्यसक्रममा लेनदेन भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानअनुसार रायमाझीले चौहानसँग साढे ५ लाख रुपैयाँ सापटी लिएकी थिइन् । त्यसको केही रकम फिर्ता गर्ने प्रयासस्वरूप उनले दुई पटक चेक दिएकी थिइन् । तर, भदौमा दिइएको दुई लाख ७५ हजार र अर्को ८० हजार रुपैयाँ बराबरको चेक दुबै बाउन्स भएपछि मुद्दा अघि बढेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शैलेन्द्रकुमार खड्काले चेक अनादर तथा बैंकिङ कसुरअन्तर्गत तीन लाख ५५ हजार रुपैयाँको विषयमा पुर्जी जारी भएको पुष्टि गरेका छन् ।

सांसद रायमाझी लुम्बिनी प्रदेश सरकारमा पूर्वमन्त्रीसमेत हुन् । पहिलो कार्यकालमा उनी जनता समाजवादी पार्टी (जसपा) बाट प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् । त्यसबेला शंकर पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी रायमाझीले जसपाले कारबाही प्रक्रिया अघि बढाएपछि पदबाट राजीनामा दिएकी थिइन् ।

त्यसपछि नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारले उनलाई कृषि मन्त्री नियुक्त गरेको थियो । पछिल्लो प्रदेशसभा निर्वाचनको अन्तिम चरणमा जसपा परित्याग गर्दै उनले जनमत पार्टी प्रवेश गरेकी थिइन् । समानुपातिक सूचीबाट सांसद बनेकी रायमाझी अहिले जनमत पार्टीका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट