Techie IT
२०८३ असोज २०, मंगलबार

महोत्तरीमा वन फँडानी गर्नेमाथि कडा कारबाही गरिने


महोत्तरीमा वनक्षेत्र उजाडेर अतिक्रमण गर्ने र कानुनी राज्यको खिल्ली उडाउनेहरूविरुद्ध वन कार्यालयले कडा कारबाहीको तयारी गरेको छ। डिभिजन वन कार्यालय, महोत्तरीले सागरनाथ वन विकास परियोजनाको २ नम्बर प्लटमा रहेका बहुमूल्य रुखहरू जथाभाबी काट्ने र रुखका फेदमा विषादी प्रयोग गरी सुकाएर मार्ने गिरोहविरुद्ध कडा कारबाही अगाडि बढाएको हो।

डिभिजन वन कार्यालयका प्रमुख तथा वरिष्ठ वन अधिकृत अजय मिश्रका अनुसार अनुसन्धानको क्रममा टिक जातका १९५ वटा रुखहरूमा जानाजान विषादी प्रयोग गरी जरा नै नष्ट गरिएको खुलेको छ। वनजन्य सम्पदामाथि भएको यो गम्भीर अपराधमा संलग्न वन माफिया तथा तस्करहरूको खोजीका लागि अहिले तीव्र रूपमा अनुसन्धान भइरहेको उनले जानकारी दिए।

घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको रेन्जपोस्टका प्रमुख प्रेम उपाध्यायले वन फँडानी र विनाशमा संलग्न व्यक्तिहरूको पहिचान अन्तिम चरणमा पुगेको बताएका छन्। ‘हामीले घटनाको गहिरो ढङ्गले सूक्ष्म अनुसन्धान गरेका छौँ, वनका बिरुवा काट्ने र फेदमा विषादी हालेर जरासमेत डढाउने व्यक्तिहरूको बारेमा ठोस जानकारी हात लागेको छ,’ उपाध्यायले भने, ‘अहिले हामी प्रतिवेदन लेखनको कामलाई अन्तिम टुंगो लगाउँदैछौँ। यो प्रतिवेदन डिभिजन वन कार्यालयमा पुग्नासाथ संलग्नहरूविरुद्ध कानुनी कारबाहीको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ।’

पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण र काठ तस्करीजस्ता गतिविधि बढेपछि वन कार्यालयले निगरानी तथा सुरक्षा व्यवस्थालाई समेत कडा बनाउँदै लगेको छ। सागरनाथ वन क्षेत्रमा भएको यस प्रकारको ठूलो क्षतिले स्थानीय स्तरमा समेत चासो र चिन्ता बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट