धन्न जेनजीहरूले रगत बगाइदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री हुन पाए
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई लिएर प्रधानमन्त्री बालेन (वालेन्द्र) शाह र जेनजी अभियन्ता रक्षा बमबीच सामाजिक सञ्जालमा वाकयुद्ध (वाक्युद्ध) चलेको छ। महाधिवेशनका क्रममा भएको आलोचना र त्यसपछि प्रधानमन्त्रीले गरेको व्यङ्ग्यात्मक टिप्पणीको प्रतिवाद गर्दै अभियन्ता बमले कडा टिप्पणी गरेकी छन्।
कांग्रेस महाधिवेशनमा सभापति गगन थापाले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएसम्म संसद्लाई खुला मान्न नसकिने भन्दै कडा असन्तुष्टि व्यक्त गरेका थिए। सोही अभिव्यक्तिप्रति लक्षित गर्दै प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत व्यङ्ग्य गर्दै लेखेका थिए, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’
प्रधानमन्त्री शाहको उक्त टिप्पणीलगत्तै जेनजी अभियन्ता रक्षा बमले पनि फेसबुकमार्फत कडा जवाफ फर्काएकी छन्। उनले लेखेकी छन्, “धन्न जेनजीहरूले आन्दोलन गर्दिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।”
महाधिवेशनको मञ्चबाट सुरु भएको राजनीतिक असन्तुष्टि र आरोप–प्रत्यारोप अब सामाजिक सञ्जालमार्फत नेता र युवा अभियन्ताहरूसम्म पुग्दा राजनीतिक वृत्तमा थप बहस सिर्जना भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस