विश्वव्यापी तेल मौज्दात अत्यन्तै न्यून, साउदी अरामकोका प्रमुखले किन दिए चेतावनी
जी–७ राष्ट्रहरूले आफ्नो मौज्दातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनमै साउदी अरामकोका प्रमुख कार्यकारी अधिकृत (CEO) अमिन नासेरले विश्वव्यापी तेल मौज्दात ‘डरलाग्दो हदसम्म न्यून’ रहेको चेतावनी दिनुभएको छ। उहाँले विश्वमा आपूर्ति अभावको जोखिम अझै पनि गम्भीर रूपमा कायम रहेको प्रस्ट पार्नुभएको छ।
साउदी सरकारको बहुमत स्वामित्व रहेको विश्वकै प्रमुख तेल उत्पादक कम्पनी अरामकोका प्रमुख नासेरले लन्डनमा आयोजित ‘इनर्जी इन्टेलिजेन्स फोरम’लाई सम्बोधन गर्दै अहिले नै विश्वव्यापी तेल आपूर्ति प्रणालीमा चरम दबाब सिर्जना भइरहेको बताउनुभयो। ऊर्जा क्षेत्रका हस्तीहरूको सहभागिता रहेको दुईदिने सम्मेलनमा उहाँले विश्वसँग तेल आपूर्तिका अन्य विकल्प अत्यन्तै सीमित रहेकाले आपूर्ति व्यवस्थाको लचिलोपन र सुरक्षा घेरा निकै कमजोर रहेको औँल्याउनुभयो।
अमेरिका–इरान द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा उत्पन्न गम्भीर चिन्तालाई कम गर्न जी–७ राष्ट्रहरूले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) सँगको समन्वयमा गत शुक्रबार तत्काल १० करोड ब्यारेल डिजेल र कच्चा तेल बजारमा ल्याउने सहमति गरेका थिए। अमेरिका सहितका जी–७ राष्ट्रहरूको उक्त निर्णयअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघलाई आफ्नो रणनीतिक डिजेल मौज्दात प्रयोग गर्न वा अमेरिकी डिजेल निर्यात प्रतिबन्धको सामना गर्न चर्को दबाब दिनुभएको थियो।
सामुद्रिक गतिविधि निगरानी गर्ने संस्था ‘केप्लर’का अनुसार हर्मुज जलसन्धिमा जहाजहरूमाथि आक्रमणका घटना भए पनि गत साता इरानबाहेक मध्यपूर्वका अन्य देशबाट भएको तेल निर्यात युद्धपूर्वको स्तरभन्दा माथि पुगेको थियो।
प्रमुख कार्यकारी नासेरले मौज्दातसम्बन्धी कुल तथ्याङ्कलाई मात्रै आधार नमान्न कडा चेतावनी दिनुभएको छ। उहाँका अनुसार विभिन्न देशले रिपोर्ट गर्ने मौज्दातको ठूलो हिस्सा पूर्वाधार सञ्चालनका लागि मात्र आवश्यक पर्ने न्यूनतम परिमाण हो, जसलाई वास्तविक रूपमा प्रयोग गर्न मिल्दैन। कुल मौज्दातको वास्तविक रूपमा उपयोग गर्न मिल्ने हिस्सा १० प्रतिशतभन्दा कम रहेको उहाँको दाबी छ।



तपाईको प्रतिक्रिया दिनुहोस