मिस सुप्रानेशनल २०२६ जित्ने लक्ष्यसहित पूर्णिमा पोल्यान्ड प्रस्थान
मिस सुप्रानेशनल नेपाल २०२६ की विजेता पूर्णिमा कार्की विश्वस्तरीय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न पोल्यान्ड प्रस्थान गरेकी छन्। प्रतियोगिता पोल्यान्डको मालोपोल्स्का क्षेत्रमा आयोजना हुँदैछ भने यसको भव्य ग्रान्ड फिनाले साउन ४ गते हुनेछ।
कानुन विषयमा स्नातक पूर्णिमा कार्की सौन्दर्य प्रतियोगिताकी विजेता मात्र नभई शिक्षा, महिला सशक्तीकरण, सामाजिक उत्तरदायित्व तथा नेपालको संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय युवा व्यक्तित्वका रूपमा परिचित छिन्। मिस सुप्रानेशनल नेपाल २०२६ को उपाधिसँगै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान, संस्कृति र नेपाली महिलाको क्षमता विश्वसामु प्रस्तुत गर्ने अवसर पाएकी छन्।
प्रतियोगिताका क्रममा उनले राष्ट्रिय पोशाक प्रदर्शन, परिचयात्मक प्रस्तुति, प्रारम्भिक मूल्याङ्कन तथा अन्य प्रतिस्पर्धात्मक चरणहरूमा सहभागी हुँदै नेपालको प्रतिनिधित्व गर्नेछिन्। साथै, नेपालको सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र नेपाली महिलाको आत्मविश्वासलाई विश्वमञ्चमा उजागर गर्ने अपेक्षा गरिएको छ।
प्रस्थान अघि पूर्णिमाले यो यात्रा आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण नेपालीको साझा सपना र राष्ट्रिय गौरवको विषय भएको बताएकी छन् ।
उनले भनिन्, ‘नेपालको झण्डा बोकेर विश्वमञ्चमा उभिन पाउनु मेरा लागि ठूलो सम्मान र जिम्मेवारी हो। यो मेरो मात्र यात्रा होइन, सम्पूर्ण नेपालीहरूको यात्रा हो। म आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ नेपाललाई उत्कृष्ट रूपमा चिनाउने प्रयास गर्नेछु।’
विश्वका प्रतिष्ठित सौन्दर्य प्रतियोगितामध्ये एक मानिने मिस सुप्रानेशनल २०२६ को अन्तिम प्रतिस्पर्धा साउन ४ गते पोल्यान्डमा हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस