Techie IT
२०८२ असार १, आइतबार

सौन्दर्य प्रतियोगितामा ‘वेश्याजस्तै व्यवहार’: मिस फिनल्याण्ड

"हामीलाई पाहुनाहरूका लागि रमाइलोका साधन बनाइएको थियो," म्यागीको गुनासो


आगामी मिस वर्ल्ड प्रतियोगिताकी एक प्रतियोगीले आयोजकमाथि गम्भीर आरोप लगाएकी छन् । फिनल्याण्डकी प्रतिनिधि मिल्ला म्यागीले प्रतियोगिताका दौरान आफूलाई 'वेश्याजस्तै' व्यवहार गरिएको अनुभूति भएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् । बेलायती सञ्चारमाध्यम द सनसँगको कुराकानीमा उनले आयोजकको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएकी छन् ।

म्यागीका अनुसार आयोजकहरूले महिला सहभागीहरूलाई धनी प्रायोजकहरूलाई मनोरञ्जन दिन दबाब दिने गरेका थिए । उनले गह्रौं मेकअप र अनावश्यक ड्रेसअपका लागि निर्देशन दिइएको तथा दिनभर तालिम र औपचारिक कार्यक्रममा सहभागी गराइएकोमा आपत्ति जनाएकी हुन् ।

"म यहाँ मानिसहरूलाई रमाइलो गराउन आएको होइन, म आफ्नो क्षमता देखाउन आएकी थिएँ," म्यागीले भनिन्, "तर, हरेक टेबलमा दुई-दुई जना युवतीलाई पाहुनाहरूलाई मनोरञ्जन दिन राखिएको थियो।"

उनले प्रतियोगिताको समग्र वातावरणले आफूलाई बारम्बार वेश्याजस्तै व्यवहार गरिएको महसुस गराएको बताइन् । "हामीलाई बाँदरझैँ नाचाइन्छ, केही नसोची जे भनिन्छ त्यही गर्न लगाइन्छ," उनले थपिन्।

म्यागी गत मे ७ मा मिस वर्ल्ड प्रतियोगिता हुने स्थान हैदराबाद पुगेकी थिइन् । त्यहाँको अवस्था अवलोकन गरेपछि मे १८ मा उनले व्यक्तिगत कारण देखाउँदै प्रतियोगिता बहिष्कार गर्ने निर्णय सार्वजनिक गरेकी थिइन् । यद्यपि, त्यतिबेला उनले स्पष्ट रूपमा कारण खुलाएकी थिइनन् ।

आफ्नो निर्णयको बारेमा बोल्दै म्यागीले मिस वर्ल्ड प्रतियोगिता अझै पनि पुरानो परम्परा र दृष्टिकोणमा अड्किएको बताइन् । "मिस वर्ल्डले एउटै खालको सौन्दर्य मापन गर्छ, जुन आजको समाजसँग मेल खाँदैन । परिवर्तनका लागि प्रतियोगितामा होमिए पनि, वास्तविकता त्यसको ठीक उल्टो पाएँ," उनले भनिन्।

मिल्ला म्यागीको यो कदमले अन्तर्राष्ट्रिय स्तरमै सौन्दर्य प्रतियोगिताको औचित्य र प्रक्रियामाथि पुनर्विचार गर्नुपर्ने बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले म्यागीको साहसिक निर्णयको समर्थन गरेका छन् भने कतिपयले मिस वर्ल्डजस्ता प्रतियोगिताको पारदर्शिता, उद्देश्य र महिला सशक्तिकरणको कथित दाबीमाथि प्रश्न उठाएका छन् ।

हालसम्म मिस वर्ल्ड आयोजक समितिले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन । तथापि, यो घटनाले आगामी दिनमा सौन्दर्य प्रतियोगिताको ढाँचा, शिष्टाचार र व्यवहारमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट