१० वर्षपछि पुनर्मिलन: कंगना रनौत र आर माधवन ‘सर्कल’ फिल्ममार्फत ठूलो पर्दामा फर्किंदै

बलिउडकी चर्चित अभिनेत्री कंगना रनौत र लोकप्रिय अभिनेता आर माधवन फेरि एकपटक ठूलो पर्दामा सँगै देखिन लागेका छन्। दर्शकमाझ निकै रुचाइएको यो जोडीले यसअघि ‘तनु वेड्स मनु’ (२०११) र त्यसको सिक्वेल ‘तनु वेड्स मनु रिटर्न्स’ (२०१५) मा सँगै अभिनय गरेका थिए, जुन दुबै फिल्म सुपरहिट भएका थिए।
१० वर्षपछि यी दुई कलाकारले नयाँ मनोवैज्ञानिक थ्रिलर फिल्म ‘सर्कल’ मा सहकार्य गरेका छन्। डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार, यो फिल्म एक प्यान-इन्डिया प्रोजेक्ट हो जुन हिन्दी, तमिल र तेलुगु भाषामा एकैसाथ सुट गरिएको छ। करिब एक वर्षदेखि निर्माणमा रहेको यस चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको बताइएको छ।
फिल्मका अन्तिम दृश्य तेलंगानाको हैदरावादस्थित जुबली हिल्सको क्लब इल्युजनमा खिचिएको थियो। फिल्मको छायांकन उटी, जयपुर, चेन्नई र हैदरावाद लगायतका विभिन्न स्थानमा गरिएको हो।
‘सर्कल’ फिल्मलाई टिडेन्ट आर्टका रवीन्द्रनले निर्माण गरिरहेका छन्। उनले चलचित्रको शीर्षक पुष्टि गर्दै कंगना रनौतको अभिनयको प्रशंसा पनि गरेका छन्।
निर्माताको दाबी अनुसार, ‘सर्कल’ एकदमै भिन्न खालको मनोवैज्ञानिक थ्रिलर हो, जुन यस विधाका अघिल्ला फिल्महरूभन्दा पृथक हुनेछ। यसैले दर्शकमा कथाबस्तु र पात्रप्रति चासो र उत्साह झनै बढेको छ।
कंगना रनौत र आर माधवन दुवै आफ्ना दमदार अभिनयका लागि चिनिन्छन्, र उनीहरूको केमेस्ट्री अघिल्ला दुई फिल्ममा पनि निकै रुचाइएको थियो। अब तेस्रोपटक उनीहरू फेरि एउटै पर्दामा देखिँदा दर्शकले पनि आशा गरेका छन् कि ‘सर्कल’ पनि हिट हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस