बाढिपहिरोले क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि २ अर्ब ८८ करोडको लाग्ने

काठमाडौँ, २३ असोज,
असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले सहरी विकास मन्त्रालयका पूर्वाधारमा पुर्याएको क्षतिका लागि करिब रु २ अर्ब ८८ करोड ३४ लाखको लागत अनुमान गरिएको छ।
सहरी विकास मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा विपद्बाट भत्किएका संरचना सुधार र पुनःनिर्माणका लागि सो लागत निर्धारण गरेको जनाएको छ। मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क र खेलमैदानमा विपद्ले क्षति पुर्याएको जानकारी दिनुभयो।
उहाँका अनुसार, स्थानीय पूर्वाधार विभाग अन्तर्गत २७ सडक खण्ड र २८ झोलुङ्गे पुल आंशिक क्षति र ३२ झोलुङ्गे पुल पूर्णरूपमा क्षति पुगेको छ, जसका लागि रु १ अर्ब ७७ करोड ४ लाखको लागत अनुमान गरिएको छ।
बागमती सभ्यता एकीकृत विकास समितिको अधिकार क्षेत्रमा बागमती, मनोहरा, धोबिखोला, विष्णुमती, नख्खु, हनुमन्ते र कर्मनासा नदीमा थुपारिएको माटो र गेग्रान हटाउन रु १२ करोड ८१ लाखको लागत लाग्ने बताइएको छ।
साथै, काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गत चाँगुनारायण, मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा पर्खाल भत्किएको, सूर्यविनायकमा सडक भासिएको, र धोविखोलामा विभिन्न पूर्वाधारमा क्षति पुगेको छ। यी संरचनाहरूको सुधारका लागि रु ११ करोड ४६ लाख लाग्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस