Techie IT
२०८२ भाद्र ३१, मंगलबार

‘भजन कीर्तन’ ज्येष्ठ नागरिक भुल्ने माध्यम बन्दै, भजन कीर्तनबाट सकारात्मकता र सौहार्दता


वालिङ (स्याङ्जा),

वालिङ नगरपालिका–८ का तुल्सीराम उपाध्याय उमेरले ९७ वर्ष पुग्नुभयो । उहाँ लौरोको सहारामा पतञ्जली योग पीठ वालिङमा दैनिक भजन कीर्तन गर्न पुग्नुहुन्छ । घरमा मात्रै बसिरहँदा पट्यार लाग्ने भएकाले घरदेखि पतञ्जली सम्म पैदल जान र त्यहाँ पुगेर आँफूजस्तै अन्य ज्येष्ठ नागरिक सहभागी भएर भजन कीर्तन गर्दा छुट्टै आनन्द मिल्ने गरेको उपाध्याय बताउनुहुन्छ ।     
    
वालिङका ज्येष्ठ नागरिक स्वतःफूर्त रुपमा पतञ्जली योग पीठ परिसरको खुला चौरमा दैनिक उपस्थित भई भजन कीर्तन गर्दै आएका छन् । दैनिक साँझ ४ बजेदेखि ६ बजेसम्म ज्येष्ठ महिला पुरुष उपस्थित भएर भजन कीर्तन गर्दै आउनुभएको छ ।     
    
“कतिपय ठाउँमा नागरिक जम्मा भएर एक अर्काको कुरा काट्ने बानी छ, त्यसले मनमा नकारात्मक भाव उत्पन्न गराउँछ”, उहाँले भन्नुभयो, “सकारात्मक सोचका लागि पनि फुर्सदमा ज्येष्ठ नागरिक एकठाउँमा भेला भएर भजन कीर्तन गर्न थालेका हौँ ।”     
    
व्यापार गर्ने सिलसिलामा सर्लाहीका जयनारायण महतो विगत १० वर्षदेखि वालिङमा बस्दै आउनुभएको छ । छयानब्बे वर्षीय महतो पनि आफ्नो फुर्सदिलो समय कटाउन दैनिक भजन कीर्तनमा सहभागी हुनुहुन्छ । आफू जस्तै ज्येष्ठ नागरिकसँग भजन कीर्तनमा सहभागी हुन पाउँदा उहाँ खुसी हुनुहुन्छ ।     
    
ज्येष्ठ नागरिक मात्रै सहभागी भएर गरिँदै आएको भजन कीर्तनमा विभिन्न बाजाको प्रयोग गरिन्छ । सीपअनुसारको बाजा बजाउने र अन्यले भजन टुक्का तथा ताली बजार साथ दिन्छन् । वालिङ–८ का ९० वर्षीय टीकाराम पङ्गेनी नछुटाई भजन कीर्तनमा सहभागी हुनुहुन्छ । फुर्सदिलो समय उहाँ पनि दैनिक भजन कीर्तनमा सहभागी भएर बुढ्यौली पनलाई भुल्ने गर्नुहुन्छ । कसरी समय कटाउने होला भन्ने भएका बेला दुई घण्टाको समय भगवानको नाम जप्दा छुट्टै खुसी मिल्ने गरेको उहाँको भनाइ छ ।     
    
वालिङ–८ का ८१ वर्षीय विष्णु श्रेष्ठ भजन कीर्तनमा सहभागी भएपछि दुई घण्टाको समय बितेको पत्तै नपाइने बताउनुहुन्छ । भजन कीर्तन भुल्ने माध्यम बनेको उहाँको भनाइ छ । यहाँ गत साउन सङ्क्रान्तिदेखि भजन कीर्तन गर्न थालिएको हो । खुला चौरमा बसेर भजन कीर्तन गर्दै आएका ज्येष्ठ नागरिकलाई लक्षित गरी वालिङमा ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्नुपर्ने स्थानीयको माग छ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट