इसराइली सैनिक आधार शिविरमा ड्रोन आक्रमण, बजेनन् साइरन
मध्य उत्तरी इसराइलमा रहेको सैनिक आधार शिविरमा आइतबार हिजबुल्लाहले गरेको ड्रोन आक्रमणमा चार जना मारिएका छन् भने ६० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी अखबार सिएनएनका अनुसार हिजबुल्लाहले ड्रोन आक्रमण गर्दा इसराइलमा कहीँपनि साइरन बजेको थिएन। ड्रोन आक्रमण हुँदा साइरन किन बजेन भन्नेबारे इसराइली सेनाले अनुसन्धान गरिरहेको सिएनएनले उल्लेख गरेको छ।
आइडिएफले लेबननबाट हिजबुल्लाहले प्रक्षेपण गरेको ड्रोन सीमाबाट करिब ४० माइल टाढा तेल अविभको उत्तरमा रहेको बिन्यामिना नजिकैको सैन्य अड्डामा ठोक्किएको बताएको छ।
हिजबुल्लाहको यो आक्रमण इसराइलसँगको लडाइँ सुरू भएयताकै ठूलो आक्रमण भनिएको छ। आक्रमणमा परी सात जना इसराइली सैनिक गम्भीर घाइते भएका छन्।
हिजबुल्लाहले उक्त आक्रमणलाई इसराइलले बिहीबार लेबननमा गरेको आक्रमणको जबाफ भनेका छन्। लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारको आक्रमणमा २२ जना मारिएका थिए भने ११७ जना घाइते भएका थिए।
हिजबुल्लाहले आक्रमणको जिम्मा लिँदै दक्षिणी लेबनानमा तैनाथ आईडीएफको इन्फन्ट्री युनिट गोलानी ब्रिगेडलाई निशाना बनाएको बताएको छ। इसराइलमा आकाशबाट गरिएका आक्रमण आकाशमै निस्तेज पार्न सक्ने भरपर्दो प्रणाली रहेको मानिन्छ। आकाशबाट आक्रमण हुँदा त्यहाँ साइरन बज्छ तर आइतबार बिन्यामिना क्षेत्रमा अलर्टको कुनै रिपोर्ट नभएको, ड्रोन कसरी इजरायली इलाकामा नदेखीकन यति गहिराइमा प्रवेश गर्न सक्यो भन्ने विषयमा प्रश्न उठेको छ।
आइडिएफ प्रवक्ता ड्यानियल हगारीले साइरन नबज्ने गरी हिजबुल्लाहको ड्रोन कसरी इसराइली भूमिमा आइपुग्यो भन्नेबारे अनुसन्धान भइरहेको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस