अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आन्तरिक पर्यटकको भीड: पर्यटक सङ्ख्यामा छ गुणाले वृद्धि

गलेश्वर (म्याग्दी), ३ कात्तिक – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल बढेको छ। दसैँको टीकापछिका पाँच दिनमा मात्रै ८०० भन्दा बढी आन्तरिक पर्यटकले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेको अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिएका छन्।
अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट सुरु हुने मौरिस हर्जोग पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि पर्यटकहरू अन्नपूर्ण आधार शिविरमा पुग्छन्। दशैँको बिदालाई सदुपयोग गर्दै यहाँ आन्तरिक पर्यटकको घुइँचो बढेको छ। आधार शिविर पुगेर फर्किएका पर्यटक सुशान्त पौडेलका अनुसार यो वर्ष अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविर र आरोहण मार्गमा पर्यटकको चहलपहल उल्लेखनीय रहेको छ।
अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटकको वृद्धि हुनुको प्रमुख कारण पदमार्गमा थपिएका पर्यटकीय पूर्वाधारहरू, पञ्चकुण्ड ताल, फुतफुते ताल, गुफा, झरनासहितको सुन्दर दृश्यहरू हुन्। यो क्षेत्र केही वर्षअघि सम्म सुनसान भए पनि हालका पूर्वाधारले पर्यटकलाई आकर्षित गरेको छ।
गत वर्षको तुलनामा यस वर्ष पर्यटक सङ्ख्यामा ६ गुणाले वृद्धि भएको र यसमा भारतीय, चिनियाँ, ताइवानी र इटालियन पर्यटकको सहभागिता पनि उल्लेख्य रहेको छ। यसले स्थानीय होटल व्यवसायीलाई उत्साहित बनाएको छ।
तर, पर्यटकको वृद्धि संगै आधार शिविर क्षेत्रमा फोहर बढेको र शौचालय लगायत अन्य आवश्यक संरचनाको अभाव रहेको पर्यटकहरूले गुनासो गरेका छन्। अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरबाट २२ किलोमिटर सवारी साधनको यात्रा गरेर होमखोला सम्म पुग्न सकिन्छ, जहाँबाट २१ किलोमिटरको पैदल यात्रा गरी आधार शिविरमा पुग्न सकिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस