Techie IT
२०८२ भाद्र ३०, सोमबार

काठमाडौँमा डिजिटल चिट लागू, नागरिक एपबाट सजिलै जरिवाना तिर्न सकिने


काठमाडौँ उपत्यकामा अब सवारी नियम उल्लंघन गर्दा जरिवाना तिर्न अब बैंक सम्म जानुपर्ने छैन । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार देखि सवारी नियम उल्लंघन गर्ने सवारी चालकहरू लाई डिजिटल ‘ई–चलान’ (डिजिटल चिट) दिन थालेको छ। यो नयाँ प्रणाली लागू भएसँगै अब सवारी चालकहरूले जरिवाना नागरिक एप मार्फत सिधै भुक्तानी गर्न सक्नेछन्।

ई–चलान के हो र यसको कार्यप्रणाली कसरी हुन्छ?
‘ई–चलान’ भनेको सवारी नियम उल्लंघन गर्दा ट्राफिक प्रहरीले डिजिटल रूपमा जरिवाना चिट काट्ने प्रणाली हो। यसमा ट्राफिक प्रहरीले एउटा विशेष डिभाइस प्रयोग गरी सवारी चालकको विवरण प्रविष्ट गर्छन् र सम्बन्धित चालकको मोबाइलमा ‘डिजिटल चिट’ पठाउँछन्। यो चिटमा सवारी चालकले उल्लंघन गरेको नियम र जरिवाना रकम सहितको विवरण हुन्छ।

सवारी चालकले नागरिक एपमा रहेको ‘ट्राफिक नियम उल्लंघन’ कोलममा गएर उल्लंघन गरेको कसुर र जरिवाना रकम हेर्न सक्छन्। एपमा देखिने जरिवाना रकमलाई ‘डिजिटल वालेट’ वा अन्य विद्युतीय भुक्तानी सेवाहरू प्रयोग गरी तुरुन्तै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर हिँड्न नपर्ने
नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै अब सवारी चालकले आफ्नो चालक अनुमतिपत्र (लाइसेन्स कार्ड) बोक्नुपर्ने आवश्यकता समाप्त भएको छ। सवारी चालकले आफ्नो लाइसेन्सको विवरण नागरिक एपमा क्यूआर कोडको रूपमा सुरक्षित गर्न सक्नेछन्। ट्राफिक प्रहरीले उल्लंघनको क्रममा यो क्यूआर कोड स्क्यान गरी चालकको लाइसेन्सको जानकारी पाउनेछन्।

यसका साथै, सवारीचालकहरूले ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्डको प्रतीक्षा नगरी एपमार्फतै लाइसेन्स प्रयोग गर्न सक्नेछन्। यसले लाइसेन्स छपाइमा हुने ढिलाइ र त्यसबाट सिर्जना भएको समस्याको पनि अन्त्य गर्ने विश्वास गरिएको छ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा पहिलो चरण लागू
प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार, यो सुविधा पहिलो चरणमा काठमाडौँ, भक्तपुर, र ललितपुर जिल्लामा मात्र लागू हुनेछ। ट्राफिक प्रहरीले यो व्यवस्थाको सफल कार्यान्वयन गर्दै अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना बनाएको छ।

यस डिजिटल प्रणालीले सवारी चालकहरूको समय बचत गर्नेछ, किनकि अब उनीहरूले ट्राफिक प्रहरी कार्यालयमा गएर जरिवाना तिर्नुपर्ने झन्झट हुनेछैन। साथै, यो व्यवस्थाले सवारी चालकहरूले ट्राफिक नियम उल्लंघन गर्दा हुने ढिलासुस्ती र कागजी प्रक्रिया अन्त्य गर्नेछ।

सवारी नियम उल्लंघन गर्ने चालकहरूलाई ‘ई–चलान’ मार्फत सजिलै जरिवाना तिराउन सकिने भएकाले ट्राफिक व्यवस्थापन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। ट्राफिक प्रहरीले यस प्रणालीबाट सवारी नियम पालना गराउन र उल्लंघनका घटनाहरूलाई घटाउन सक्ने विश्वास लिएको छ। डिजिटल प्रणालीको प्रयोगले ट्राफिक कारबाहीमा पारदर्शिता ल्याउनेछ। सवारी चालकले नियम उल्लंघन गरेको कारण, जरिवाना रकम, र भुक्तानीको सम्पूर्ण विवरण आफ्नो मोबाइलमा हेर्न सक्नेछन्। यसबाट अव्यवस्थित र झन्झटिलो कागजी प्रक्रियाबाट मुक्ति मिल्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट