Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्रको स्थापना हुने

बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने निर्णय गरेको छ।


बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। कोहलपुरमा स्थापित हुने यस केन्द्रले निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई सहजता प्रदान गर्ने उद्देश्य राखेको छ।
 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहका अनुसार, लगभग ७० लाख रुपैयाँको लागतमा यो केन्द्र निर्माण गरिनेछ। उनले भने, "दुई साताभित्र सूचना केन्द्र स्थापना गरिने तयारी भइरहेको छ, जसले पर्यटकलाई निकुञ्जका बारेमा विस्तृत जानकारी प्रदान गर्नेछ।"
 

सूचना केन्द्रले बाँके राष्ट्रिय निकुञ्जसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउनेछ। गत आर्थिक वर्षमा ४८० पर्यटकले यस निकुञ्जको भ्रमण गरेका थिए।
बाँके राष्ट्रिय निकुञ्ज विशेष रूपमा जैविक विविधता र बाघ संरक्षणका लागि प्रसिद्ध छ। २०६७ सालमा दुर्लभ पाटेबाघ संरक्षणको उद्देश्यले स्थापित गरिएको यो निकुञ्ज मुलुकको कान्छो राष्ट्रिय निकुञ्ज हो।
 

यहाँका पर्यटकले बाघ, चितुवा, हात्ती, गैँडा, जरायो, बँदेल, नीलगाई, र विभिन्न प्रजातिका चरा र सर्प अवलोकन गर्न सक्छन्। निकुञ्जमा हात्ती, जिप, र जङ्गल सफारीका साथै पैदल यात्रा गर्ने व्यवस्था पनि गरिएको छ।
 

वन्यजन्तु अवलोकनका लागि मचान, घाँसेमैदान, कृत्रिम पोखरी, र वनपथजस्ता पूर्वाधारहरू पनि निर्माण गरिएको छ।
बाँकेमा सडक र हवाई यातायातको सहज पहुँच र एक दर्जनभन्दा बढी तारे होटलको सुविधा रहेका कारण यहाँ आउने पर्यटकहरूले बाघलगायत वन्यजन्तुहरूको अवलोकन गर्न रुचाउँछन्।
निकुञ्ज तीन जिल्लाहरू—बाँके, दाङ, र सल्यान—का ५५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट