मुस्ताङको प्राकृतिक सौन्दर्य चित्रमा उतारियो: अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव सम्पन्न

कलाकारहरूले मुस्ताङको अनुपम प्रकृति, संस्कृति र मौलिकतालाई चित्रमा जीवन्त रूप दिएर प्रस्तुत गरेका छन्।
अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सवका लागि नेपाल तथा अन्य राष्ट्रबाट आएका कलाकारहरूले स्थलगत भ्रमण गरी मुस्ताङका दृश्यलाई चित्रकलामा उतारेका हुन्। महोत्सवका संयोजक त्रिपल पि गुरुङका अनुसार यो महोत्सव कात्तिक ३ गतेबाट सुरु भई शुक्रबार ठिनीमा सम्पन्न भएको हो।
महोत्सवका क्रममा कलाकारहरूले जोमसोम, ठिनी, कागबेनी, मुक्तिनाथ, झोङ, झारकोट, र तिरीको भ्रमण गरे। संयोजक गुरुङले महोत्सवले मुस्ताङको परम्परागत संगीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकलाको माध्यमबाट विश्वभर प्रचारमा मद्दत पुर्याएको बताएका छन् ।
कलाकारहरूले मुस्ताङको हिमाल, गाउँ, जनजीवन, पशुपालन, कृषि, मन्दिर, र गुम्बाको चित्र कोरेर क्षेत्रीय संस्कृति उजागर गरे।
थाइल्यान्डका डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डकी इवा क्रुएजकोस्का, रोमानियाका स्टेफन बालोग, भुटानका जामपेल छेदा, इन्डोनेसियाकी एमी गोर र ताइवानका छेङ हान वेनजस्ता अन्तर्राष्ट्रिय कलाकारहरूले समेत महोत्सवमा भाग लिएका थिए।
नेपालका सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नवीन नाल्बो र आकाश गुरुङजस्ता नेपाली कलाकारहरूको पनि सहभागिता रहेको थियो।
महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङ, तथा सांस्कृतिक एवं साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो । साँझको समयमा हिमाली चलचित्रको प्रदर्शनी गरिएको थियो, जसले मुस्ताङको कला र संस्कृतिमा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस