बम पड्काउने निरन्तरका चेतावनीपछि भारतीय प्रशासनद्वारा सामाजिक सञ्जाललाई कारबाहीको चेतावनी
भारतीय एयरलाइन्समा बमको धम्कीले यात्राको सुरक्षामा गम्भीर असर परेको भन्दै भारत सरकारले यस्ता चेतावनी फैलाउने सामाजिक सञ्जाल प्लेटफर्मलाई कानूनी कारबाहीको चेतावनी दिएको छ।
हालैका हप्ताहरूमा बमको धम्कीका कारण भारतका विमानहरूलाई विभिन्न देशहरूतर्फ डाइभर्ट गर्नुपरेको थियो । सरकारको विज्ञप्ति अनुसार, “एयरलाइन्समा बम पड्काउने गलत चेतावनीले सार्वजनिक सुरक्षा र राज्यको सुरक्षामा खतरा उत्पन्न गरेको छ।” अक्टूबरको मध्यदेखि भारतमा २७५ भन्दा धेरै फ्लाइटमा बमको धम्की आएको बताइएको छ, भने केही मिडिया रिपोर्टले यो संख्या ४०० पुग्न सक्ने अनुमान गरेका छन्।
सूचना प्रविधि मन्त्रालयले प्लेटफर्ममा ‘फरवार्डिङ’, ‘रि-शेयरिङ’ आदिका माध्यमबाट गलत सूचनाको तीव्र फैलावट भएको बताउँदै, प्लेटफर्महरूलाई यस्ता भ्रामक सन्देश नियन्त्रण गर्न सहयोग गर्न आग्रह गरेको छ। भारतले हवाई सुरक्षा कानूनमा कडा परिवर्तन गर्ने र यस्ता धम्कीलाई गम्भीर अपराध मान्ने तयारी गरेको छ।
बमको चेतावनीपछि भारतीय विमानहरू गन्तव्यबाट क्यानाडा र जर्मनीतर्फ जान बाध्य भएका थिए भने विमानलाई लडाकु विमानले बेलायत र सिङ्गापुरमाथिको आकाशमा पहरा दिएका थिए। सरकारले चेतावनीको सङ्ख्यामा देखिएको वृद्धि ‘अनियन्त्रित र जोखिमपूर्ण’ रहेको बताएको छ।
यदि उनीहरूले ‘गलत सूचना पठाउने कार्यलाई तुरुन्तै रोकेनन्’ भने प्रशासनले सामाजिक सञ्जाललाई ‘कानूनमा व्यवस्था भएअनुसार कारबाही’ गर्ने चेतावनी दिएको छ ।
नागरिक उड्डयन अधिकारीले एक्स (ट्विटर)मा पोस्ट गरिएका खतराको चेतावनीका सन्देशले प्रत्येक उडानहरू जाँच गर्नुपरेको बताएका छन् । चेतावनीले सेवा जोखिमयुक्त भएको भावना फैलिनुका साथै यसबाट प्रत्यक्ष रूपमा कम्पनी र परोक्षरूपमा राज्यलाई आर्थिक क्षति पुर्याएको उनीहरूको बुझाई रहेको छ ।
सरकारी चेतावनीमा कुनै पनि सामाजिक सञ्जाल कम्पनीको नाम उल्लेख गरिएको छैन, तर सूचना प्रविधि मन्त्रालयको परामर्श सूचनालाई उद्धृत गरिएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, “कम्पनीहरूले देशको एकता, अखण्डता, सार्वभौमिकता, सुरक्षा वा आर्थिक सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने कुनै पनि अपराधको रिपोर्ट गर्नु पर्दछ र अनुसन्धानमा सहयोग पुर्याउन सरकारी निकायहरूसँग द्रूत सहयोग गर्नुपर्दछ।”



तपाईको प्रतिक्रिया दिनुहोस