फ्लोरा एक्स्पोमा ७२ लाखको कारोबार

फ्लोरा एक्स्पो २०८१ रु ७२ लाखको कारोबारसँगै आज कसम्पन्न भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा ‘तिहारको महोत्सव फूलको उत्सव’ भन्ने नारासहित काठमाडौँको भृकुटीमण्डपमा पाँच दिनसम्म चलेको एक्स्पोमा ४० हजार बढीले अवलोकन गरेका थिए ।
फूल तथा नर्सरी र नर्सरीजन्य उत्पादनको परनिर्भरतालाई कम गरी स्वदेशी उत्पादन प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको तिहार लक्षित एक्स्पो सफल भएको सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताएका छन् । “व्यवसायी र उपभोक्ताको दूरी घटाउने र नर्सरी व्यवसायीले उत्पादन गरेका कृषि तथा वन जडिबुटी, नर्सरी, फलफूल औजार उपकरण सबै एकैथलोमा भएकाले अवलोकनकर्ताको उत्साहजनक सहभागिता रह्यो”, उनले भने ।
एक्सपोमा विभिन्न प्रजातिका फुल्ने तथा नफुल्ने आलङ्कारीक फूल, बिरुवालगायत कृषि तथा वन जडीबुटी, औजार उपकरण, मल सबै गरी ६५ वटा व्यवसायीक स्टल राखिएका थिए । एक्सपोमा उच्चपदस्त कर्मचारी र नेताहरुले पनि अवलोकन गरेका थिए । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एक्सपोमा अवलोकन गरि व्यवसायीहरु सँग उनिहरुको समस्याका बारेमा छलफल गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस