Techie IT
२०८२ वैशाख २७, शनिबार

झिलीमिली धरान: तिहारमा विद्युतीय बत्तीसँग चम्किँदै बजार, व्यापारमा बृद्धि


फेसने सहर धरान यस वर्षको तिहारमा विशेष झिलिमिली र रौनकमा रंगिएको छ। दसैँपछि नेपालीहरूको दोस्रो ठूलो पर्वको रूपमा मनाइने तिहारलाई विशेष गरी उज्यालो, संगीत, र रंगहरूको पर्वका रूपमा मनाइन्छ। यतिबेला धरानका मुख्य बजारहरू बत्ती, फूलमाला, र तिहारका सामग्रीले भरिएका छन्।

तिहारको सुरुआतसँगै धरानका सडक, पसल, र घरहरू विद्युतीय बत्तीले सिँगारिएका छन्। विभिन्न रंगका लाइटहरू, फूलमाला, र आकर्षक सजावटले धरानलाई रातमा झन् मोहक बनाएको छ। स्थानीय व्यापारी नारद यादवका अनुसार, तिहारको समयमा विद्युतीय बत्तीहरूको व्यापारमा उल्लेखनीय बृद्धि भएको छ। 

“झिलिमिली बत्तीको माग यस पर्वमा अत्यधिक हुने गरेको छ," उनले भने, "पछिल्लो समय परम्परागत दियोको प्रयोग कम हुँदै गएको छ र आधुनिक बत्तीको आकर्षण बढ्दै गएको छ।”

व्यापारीको चहलपहल र बढ्दो व्यापार
व्यापारी प्रविन श्रेष्ठ भानुचोक क्षेत्रमा झिलिमिली बत्ती बेच्दै गर्दा तिहारको व्यापार सम्बन्धमा निकै उत्साहित देखिए। उनले भने, “तिहारको समयमा झिलीमिली बत्ती र अन्य विद्युतीय सामग्रीको व्यापार निकै बढेको छ। दिनमा रु ४० देखि ५० हजारसम्मको बिक्री हुने गरेको छ, जुन अन्य समयको तुलनामा धेरै बढी हो।” श्रेष्ठका अनुसार तिहार आउन १–२ महिना अगाडिबाटै व्यापारीहरूले यस्ता सामग्री स्टक गर्न सुरु गर्छन्।

धरानको मुख्य बजार क्षेत्र, विशेष गरी भानुचोक र सब्जी मन्दिर वरिपरि, उपभोक्ताहरूको चहलपहलले भरिएको छ। तिहारका लागि आवश्यक सामग्रीहरू जस्तै फूलमाला, बत्ती, र सजावटका अन्य सामग्री किनमेल गर्न सर्वसाधारणको भीड छ।

तिहारमा घरका प्रत्येक कोना झिलिमिली बनाउने मान्यता अनुरूप साधारण बल्बदेखि महंगा आकर्षक बत्तीहरू बजारमा उपलब्ध छन्। न्यूनतम रु २० देखि १० हजार वा २० हजारसम्मका बत्तीहरू बजारमा बिक्रीका लागि राखिएका छन्। बत्तीहरूमा विभिन्न डिजाइन र रङका विकल्पहरू रहेका छन्, जसले उपभोक्तालाई आकर्षण गरेका छन्।

“लोडसेडिङको समस्या कम भएकाले पनि तिहारमा यस्ता बत्तीको माग दोब्बर नै बढेको छ,” व्यापारीहरूको भनाइ छ। तिहार जस्तो विशेष अवसरमा घरका सबै होल्डरमा बत्ती जोड्नुपर्ने मान्यताले साधारण बल्बको बिक्री पनि बढेको श्रेष्ठले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट