प्रधानमन्त्रीले उठाए राष्ट्रिय अनुसन्धान विभागको भूमिकामा प्रश्न
यो विभागले ठोस काम के गर्यो? इन्टेलिजेन्स (गुप्तचरी), काउन्टर इन्टेलिजेन्स (प्रतिगुप्तचरी, के काम गर्यो? कुन अपराध हुनुभन्दा पहिले थाहा पायो?,’
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभागको भूमिका र प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएका छन् । आइतबार आयोजित एक बैठकमा प्रधानमन्त्री ओलीले विभागका प्रमुख हुतराज थापालगायत अन्य उच्च अधिकारीहरूसँग छलफल गरेका थिए।
बैठकमा प्रधानमन्त्री ओलीले विमानस्थलबाट ठूलो परिमाणमा सुन भित्रिँदा पनि गुप्तचरी निकायले पत्तो नपाएकोमा असन्तुष्टि व्यक्त गरे। उनले राष्ट्रिय अनुसन्धान विभागले ठोस काम नगरेको र अपराध हुनुभन्दा पहिले थाहा पाउन नसकेको आरोप लगाए।
प्रधानमन्त्री ओलीले भने, “राष्ट्रिय अनुसन्धान विभागले के काम गर्यो? कुन अपराध हुनुभन्दा पहिले थाहा पायो?” उनले विभागको अनुसन्धान र तहकिकातमा पनि प्रश्न उठाए।
विभागका अधिकारीहरूले भने, “हामी त अध्यागमनबाट आवतजावत गर्ने मानिसहरूलाई मात्रै हेर्छौं,” जवाफमा प्रधानमन्त्रीले भने, “अध्यागमन हेर्न त अध्यागमन विभाग नै छ। तपाईंहरूको भूमिका अवैध चोरी, पैठारी नियन्त्रणमा देखिनुपर्छ।”
प्रधानमन्त्री ओलीले विभागलाई विमानस्थल र भन्सारमा हुने अपराध र भ्रष्टाचार नियन्त्रणमा थप टिओआर (क्षेत्राधिकार) आवश्यक भए सरकारले विचार गर्ने बताए। उनले भने, “भन्सारले के गरिरहेको छ, त्यो तपाईंहरूले हेर्नुपर्छ। टिओआर पुगेको छैन भने थपौंला। तर हेर्नुपर्छ।”



तपाईको प्रतिक्रिया दिनुहोस