Techie IT
२०८२ मंसिर १, सोमबार

इजरायलद्वारा UNRWAसँगको सम्बन्ध तोड्ने घोषणा


 इजरायलले गाजामा रहेका प्यालेस्टिनी शरणार्थीलाई सहयोग पुर्‍याउँदै आएको संयुक्त राष्ट्र संघीय निकाय युएनआरडब्लुए (युनाइटेड नेशन्स रिलीफ एन्ड वर्क्स एजेन्सी,UNRWA) सँगको सम्बन्ध औपचारिक रूपमा तोड्ने निर्णय लिएको छ।

इजरायली विदेश मन्त्री इजरायल काट्जको निर्देशनमा, इजरायलको विदेश मन्त्रालयले संयुक्त राष्ट्र संघलाई यो सम्बन्ध विच्छेदको औपचारिक सूचना दिएको जनाएको छ। विदेश मन्त्री काट्जले केही युएनआरडब्लुएका कर्मचारीले गत अक्टोबरको नरसंहारमा संलग्न भएको आरोप लगाउँदै उनीहरूलाई हमासका समर्थक र गाजा पट्टीको समस्याको हिस्सा भएको बताएका छन्। यद्यपि, यसबारे ठोस प्रमाण भने प्रस्तुत गरिएको छैन।

गत महिना इजरायली संसदले इजरायल र पूर्वी जेरुसेलममा युएनआरडब्लुएको गतिविधिमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको थियो । त्यो निर्णयको इजरायलका सहयोगी अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका थिए। सात दशकदेखि प्यालेस्टिनी शरणार्थीलाई आवश्यक सहयोग दिँदै आएको यस एजेन्सीमा प्रतिबन्ध लगाइए मानवीय संकट थपिने चेतावनी विज्ञहरूले दिएका छन्।

तर, काट्जले युएनआरडब्लुएले गाजामा अत्यन्त सीमित मात्रामा सहयोग पुर्‍याइरहेको भन्दै मानवीय संकट थपिने तर्कलाई अस्वीकार गरेका छन्। उनले इजरायल अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने प्रतिबद्धतामा रहेको र इजरायली नागरिकको सुरक्षामा असर नपर्ने गरी गाजा क्षेत्रमा आवश्यक मानवीय सहायता सहज बनाउने बताएका छन्।

युएनआरडब्लुए र अन्य मानवीय संस्थाहरूले भने इजरायलले गाजामा आवश्यक सहायता प्रवाहमा रोक लगाएको आरोप लगाएका छन्। गाजामा रहेका झन्डै २४ लाख मानिसहरू युद्धका क्रममा कुनै न कुनै रूपमा विस्थापित भएका छन्, जसले गर्दा उनीहरूको जीवन थप कठिन बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट