बेपत्तालाई सहिदको दर्जा दिन पहल गर्छु ; प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा पुगेपछि बेपत्ता तथा सहिद परिवारले उनलाई भेट्न लेकसाइड पुगे। माओवादीको प्रशिक्षण भेला समापन हुँदै थियो, र उनीहरूले प्रचण्डलाई भेट्न पाउनुपर्ने माग राखे । उनिहरुको भेट्ने माग पनि पूरा भयो।
सहिद परिवारले प्रचण्डलाई माओवादीले भाग लिएको पहिलो चुनावको आश्वासन सम्झाउँदै, देशको अवस्था बिग्रिएको बताए । प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) दुबै सदनबाट पारित भएकाले सहिद तथा बेपत्ता परिवारलाई सम्मान दिने ढोका खुलेको बताए।
प्रचण्डले सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरेर राजपत्रमा प्रकाशित गरेको सम्झाए। बेपत्ता परिवारले बेपत्ता व्यक्तिहरूको छानबिन र सम्मानको माग गरे। प्रचण्डले छानबिन छिटो हुने र पत्ता नलागे सहिद घोषणा गरेर परिपूरण दिने आश्वासन दिए।
प्रचण्डले जनयुद्धका बेला भएका कमीकमजोरी उठाएर विरोधीहरूले तिललाई पहाड बनाउन खोजेको दाबी गरे। टिआरसी विधेयक पारित भएपछि शान्ति प्रक्रिया पूरा हुने बाटोमा रहेको बताए। बैठकमा सहभागी माओवादी केन्द्रीय सदस्यहरूले समाजवादी क्रान्तिको तयारीमा रहेको बताए।
प्रचण्डले वर्तमान सरकार ढलेर फेरि माओवादी केन्द्र सरकारमा जान प्रस्ताव आउने सम्भावना रहेको तर सरकारमा नजाने बताएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस