डोनाल्ड ट्रम्पको पुनरागमन: अमेरिकी राजनीतिक इतिहासमा नयाँ अध्याय
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा पुनः प्रवेश गर्दै छन्। यसअघि यो इतिहास २२ औं राष्ट्रपति ग्रोभर क्लेभेलान्डले रचेका थिए।
सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्पले त्यसबेला डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए। तर, सन् २०२० मा जो बाइडेनसँग पराजित भए। यस पटक भने उनले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पपुलर मतमा पराजित गरेका छन् ।
ट्रम्पको चुनावी यात्रा र समर्थन आधार
राष्ट्रपतिको पुनरागमनका लागि ट्रम्पले ठुलो चुनावी अभियान चलाएका थिए। उनले आफूलाई “अमेरिकालाई फेरि महान् बनाउने” सपना देखाउने नेताका रुपमा प्रस्तुत गरे। उनका समर्थकहरूको बेस बलियो रहेकोले उनी रिपब्लिकन पार्टीबाट पुनः उम्मेदवार बन्न सफल भए। ट्रम्पको र्यालीमा ठूलो भीड देखिनु र स्विङ राज्यहरूमा बलियो प्रदर्शन गर्नुले उनको समर्थन आधार कस्तो छ भन्ने पुष्टि गरेको थियो ।
अमेरिकी मतदातालाई प्रभावित पार्ने पाँच प्रमुख कारण
१. आर्थिक मुद्दामा जोड: अमेरिकामा पछिल्ला वर्षहरूमा बढ्दो मुद्रास्फीति र बेरोजगारीबाट नागरिकहरू असन्तुष्ट थिए। बाइडेन प्रशासनले अर्थतन्त्रमा सुधार गरेको दाबी गरे पनि जनताले आर्थिक बोझको वास्तविकता महसुस गरिरहेका थिए। ट्रम्पले आर्थिक सुधार, कर कटौती र कर्पोरेट करको नीतिमा केन्द्रित भएर मतदाताको समर्थन जित्न सफल भए।
२. आप्रवासन नीतिमा स्पष्ट अडान: ट्रम्पको आप्रवासन सम्बन्धी कडा नीतिले अमेरिकी नागरिकहरूलाई आकर्षित गर्यो। बाइडेन प्रशासनको लचिलो नीतिले अमेरिकी सुरक्षामा असर पारिरहेको आम धारणा थियो, जसलाई ट्रम्पले आफ्नो पक्षमा पार्न सके।
३. पितृसत्तात्मक मानसिकता: महिला उम्मेदवार विरुद्धको प्रतिस्पर्धामा ट्रम्पको जित सहज भएको भन्ने एकथरी विज्ञहरूको तर्क छ। अमेरिकी समाजमा अझै पनि पितृसत्तात्मक धारणा बलियो छ, जसले ट्रम्पलाई महिला उम्मेदवारहरूसँगको प्रतिस्पर्धामा फाइदा गर्यो भन्ने पनि छन् ।
४. स्विङ राज्यमा हाबी: ट्रम्पले जर्जिया र उत्तरी क्यारोलिना जस्ता स्विङ राज्यहरूमा बढी भ्रमण र लक्षित अभियान चलाएर समर्थन जुटाए। यी क्षेत्रमा उनले सन् २०१६ भन्दा बढी समर्थन पाएका छन्, यसले उनीविरुद्ध रहेका मतदातालाई पनि आफ्नो पक्षमा तान्न सक्यो।
५. बलियो राष्ट्रपति बन्ने अपेक्षा: ट्रम्पलाई एक विवादास्पद व्यक्तित्व मानिए पनि, उनको स्पष्ट र बलियो नेतृत्वको शैलीले मतदाताको मन जित्न सकेको छ। अहिलेको विश्व परिवेशमा अमेरिकालाई बलियो नेताको आवश्यकता रहेको जनताले महसुस गरे, जसमा उनीहरूले ट्रम्पलाई उपयुक्त देखे।
ट्रम्पको पुनरागमनले अमेरिकी राजनीतिमा नयाँ इतिहास रच्नेछ। उनले न केवल पपुलर मतमा जित हासिल गरिसकेका छन्, तर सिनेटको दुवै सदनमा पार्टीको पकड पनि बलियो बनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस