एकीकृत समाजवादीको पोलिटब्यूरोमा युवाहरू जवर्जस्त निर्वाचित
नेकपा (नेपाल कम्युनिष्ट पार्टी) एकीकृत समाजवादीमा युवा नेताहरू पोलिटब्यूरोमा निर्वाचित भएका छन् । विधान अनुसार १०५ जनाको पोलिटब्यूरो बनाउनुपर्ने भएपनि आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीले मतदानको विकल्प अपनाएको थियो। केन्द्रीय सदस्यहरूको मध्ये मंगलबार पदाधिकारीसँगै पोलिटब्यूरो सदस्यका निम्ति मतदान भएको थियो। १७ पदाधिकारीका लागि ६७ जनाको उम्मेदवारी परेको थियो भने पोलिटब्यूरो सदस्य बन्न २०२ जनाको उम्मेदवारी परेको थियो।
पदाधिकारीमा केही अनपेक्षित नतिजा आएपनि जित्नेहरू पाका उमेर समूहकै नेता छन्। तर, पोलिटब्यूरोमा भने ठूलै संख्यामा युवा निर्वाचित भएका छन्। विशेषगरी, विद्यार्थी र युवा संघका प्रतिनिधि युवा नेताहरूले पोलिटब्यूरो सदस्य जितेका छन्। विद्यार्थी राजनीतिबाट पार्टी केन्द्रीय कमिटीमा पुगेका सुदेश पराजुली, अशेष घिमिरे, गौतम राई, अब्दुल हुसेन खाँ, जीवन राई, मञ्जुकुमारी यादव लगायतले सहजै पोलिटब्यूरो सदस्य जितेका छन्। यी सबै नेताहरु सँगसँगै जसो विद्यार्थी राजनीतिमा थिए ।
उनीहरुसँगै मोहन गौतम, लक्ष्मण लम्साल, नरेशकुमार शाही, हस्त शाही, लक्ष्मण केसीहरुले समेत पोलिटब्यूरो सदस्य जितेका छन् । ठूलै प्रतिस्पर्धामा जितेर पोलिटब्यूरोमा आएका यी सबै नेता युवा क्लस्टरका हुन् । एकीकृत समाजवादीले ४५ वर्ष भन्दा मुनिका उमेर समूहलाई युवा भन्ने गरेको छ ।
कम्युनिष्ट पार्टीमा नीति सिद्धान्तबारे छलफल गरिने संरचनाका रुपमा रहने महत्वपूर्ण पोलिटब्यूरोमा युवाहरुको जबर्जस्त उपस्थितिले सकारात्मक राजनीतिलाई अगाडी बढाउनको लागि अवसर प्राप्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस