लामिछानेको २१ करोडको शंकास्पद कारोबार

सहकारी ठगी र संगठित अपराध मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान थप बलियो बन्दै गएको छ।
कास्की प्रहरीले रवि र उनकी पत्नी निकिता पौडेलको बैंक खातामा झन्डै साढे २१ करोड रुपैयाँको कारोबार भएको प्रमाण फेला परेको जनाएको छ। विशेषगरी, निकिताको खातामा कोरोना महामारीपछि ठूलो रकम दाखिला भएको देखिएको छ।
प्रहरी स्रोतका अनुसार, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, र नेपाल बैंकमा रहेका उनीहरूका खाताहरूमा गत ४ वर्षमा कुल २१ करोड ४० लाख ४२ हजार रुपैयाँ कारोबार भएको पुष्टि भएको छ। यति ठूलो परिमाणमा रकम कहाँबाट आयो र कहाँ गयो भन्ने तथ्य रविले स्पष्ट गर्न नसकेको प्रहरीको भनाइ छ।
सम्पत्ति विवरणमा ठुलो अन्तर
रविले उपप्रधानमन्त्री तथा गृहमन्त्री पदमा हुँदा सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार, आफ्ना खातामा जम्मा १ लाख १० हजार रुपैयाँ रहेको बताएका थिए। पत्नी निकिताको खातामा भने ५ लाख ५८ हजार रुपैयाँ रहेको विवरण पेश गरिएको थियो। तर, अनुसन्धानका क्रममा यो विवरणभन्दा निकै ठूलो रकम फेला परेको छ।
स्रोतले भन्यो, “रविले बुझाएको सम्पत्ति विवरण र अहिले भेटिएको सम्पत्तिमा ठूलो अन्तर छ। उनले यो सम्पत्तिको स्रोत देखाउन नसके दोषी ठहर हुने पक्का छ।”
कास्की प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत पुस ५ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ९० दिनभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने कानुनी प्रावधानअनुसार काम भइरहेको प्रहरीले जनाएको छ।
गोपीकृष्ण मुभिज र गोरखा मिडियाको संलग्नता
अनुसन्धानमा, रविले गोरखा मिडियाबाट आफ्ना ससुरा उद्धव पौडेलको स्वामित्वमा रहेको गोपीकृष्ण मुभिजको नाममा २५ लाखको चेक काटेको प्रमाण समेत फेला परेको छ। साथै, निकिताको नाममा गोरखा मिडियाको नामको चेक काटिएको विवरण पनि सार्वजनिक भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस