Techie IT
२०८३ जेष्ठ १०, आइतबार

कम्युनिष्टबाट बिच्किएका र निकालिएकाहरूको रोजाइमा गैरकम्युनिष्ट पार्टी


काठमाडौं । लामो समय कम्युनिष्ट पार्टी र आन्दोलनमा जीवन बिताएका नेताहरूले नयाँ पार्टी गठन गर्दा कम्युनिष्ट नाम राख्दैनन् । 

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई लामो समय तत्कालीन नेकपा (माओवादी)मै थिए । उनले १० वर्षे सशस्त्र संघर्षसमेत गरे । २०६२÷०६३ को जनआन्दोलन पश्चात् माओवादी मूलधारको राजनीतिमा आएपछि बाबुराम अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसमेत बने । 

तर, अन्ततः उनले माओवादी परित्याग गरेर नयाँ पार्टी गठन गरे । भट्टराईले नयाँ पार्टीको न्वारानको नाममा कतै कम्युनिष्ट उल्लेख गरेनन् । सिधै नयाँ शक्ति नामाकरण गरे । र, उनले कम्युनिष्टसँग कुनै साइनो नरहेको बताए । 

केही समय नयाँ शक्ति पार्टी मधेसवादी दल जनता समाजवादी पार्टी (जसपा) नेपालसँग एकता गराए । तर, त्यहाँ पनि उनी लामो समय टिक्न सकेनन् र अन्ततः अहिले नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका छन् । 

त्यस्तै लामो समय कम्युनिष्ट राजनीति गरेरै उदायका उपेन्द्र यादव पनि एमाले, माओवादी लगायतका कम्युनिष्ट पार्टीमा टिक्न सकेनन् । त्यसपछि उनी कम्युनिष्टबाट टाढिएर विभिन्न मधेसवादी आन्दोलनमा सक्रिय भए । 

मधेस केन्द्रित दल गठन गरेर अहिले जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्व गरिरहेका छन् । उनी आजभोलि कम्युनिष्ट नामै सुन्न चहादैनन् भने कम्युनिष्टको कट्टर विरोधी बनेका छन् । 

त्यसैगरी अर्का पूर्व नेकपा (माओवादी)कै नेता प्रभु शाहले पनि माओवादी परित्याग गरेर नयाँ पार्टी गठन गरेका छन् । उनले अहिले आम जनता पार्टीको नेतृत्व गरिरहेका छन् । शाह पनि पछिल्लो समय कम्युनिष्टको नामै सुन्न चहादैनन् । कम्युनिष्ट परित्याग गरेका वा पार्टीबाट निष्कासन गरिएका अधिकांश नेताहरूले नयाँ पार्टी गठन गर्दा कम्युनिष्टको नामै लिँदैनन् । 

पुस १० गते नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी नेता भीम रावललाई पार्टीबाट निष्कासन गरेको छ । उनी पार्टीबाट निष्कासन भएसँगै उनले पनि नयाँ पार्टी गठन गर्ने चर्चा चलेको छ । उनले पनि गैरकम्युनिष्ट पार्टी खोल्ने संकेत देखिएको छ । उनी एमालेमा लामो समय सक्रिय थिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट