रविको हिरासत बासले रास्वपा रन्थन, एक्लिएका बाबुरामसँग सोविताको गन्थन
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा.बाबुराम भट्टराईसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले भेटवार्ता गरेकी छन् । आज (मंगलबार) बिहान बाबुराम र सोविताले भेटवार्ता गरेका हुन् ।
सोवितासँगको भेटमा बाबुरामले देशको अर्थ र वैकल्पिक राजनीतिको औचित्य लगायतका विषयमा विमर्श गरेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तीसँग देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्यलगायत विविध विषयमा उपयोगी विमर्श ।’
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोजनमा कास्की हिरासतमा छन् । उनी गत कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय वनस्थली काठमाडौंबाट पक्राउ परेका थिए ।
बाबुरामले यसअघि रविलाई कास्की हिरासतमै भेटेका थिए । रविसँगको भेट पश्चात् बाबुरामले राजनीतिक प्रतिशोधका आधारमा उनलाई महिनौँ हिरासतमा राखिएको टिप्पणी गरेका थिए ।
तत्कालीन नेकपा (माओवादी) परित्याग गरि नयाँ शक्ति गठन गरेका बाबुराम जनता समाजवादी पार्टी (जसपा) नेपाल हुँदै नेसपासम्म आइपुग्दा झन्डै एक्लिएका छन् । तर, पनि उनीमा अझैँ वैकल्पिक शक्तिको मोह भंग भइसकेको छैन ।



तपाईको प्रतिक्रिया दिनुहोस